रुसको संघीय सुरक्षा मुख्यालयमा गोली प्रहार, एक जनाको मृत्यु, पाँच घाइते

757
views

एजेन्सी । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को मुख्यालयमा गोली चलेको छ । रुसी सञ्चारमाध्यमका अनुसार यो घटनामा कम्तीमा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् । समाचार संस्था ‘इन्टरफ्याक्स’ का अनुसार एफएसबी भवनभित्र एक जना बन्दुकधारीले स्वचालित हतियार चलाउँदा एक जना अधिकारीको ज्यान गएको हो ।

सुरक्षा बलले घटना घटेको इलाकामा घेराबन्दी गरेको छ र आसपास रहेका मानिसहरुलाई भवनभित्र जानको लागि भनेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक पत्रकार सम्मेलनको केही घण्टामा नै यो घटना घटेको हो । एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो ।

अहिलेसम्म यो घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन । झण्डै चार घण्टासम्म चलेको राष्ट्रपति पुटिनको पत्रकार सम्मेलनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने बारेमा पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।