मध्य तथा पूर्वी तराईको तापक्रम ३९–४० डिग्रीसम्म, अत्यधिक गर्मीले जनजीवन कष्टकर

593
views

महेन्द्रनगर २१ जेठ । मध्य तथा पूर्वी तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहितका मध्य तथा पूर्वी तराईबासीको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको सर्वसाधारणको भनाई छ । गर्मीले गर्दा यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएका बिरामीहरु आएका छन् । गर्मीका कारण पठनपाठनमा समस्यासँगै बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तराईमा विहान ३२ डिग्री सेल्सियस र दिउँसो यो बढेर ३९–४० डिग्रीसम्म पुग्ने गरेको छ । यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।