ठाँटीकाँध गाउँपालिकामा घरेलु मदिरा नियन्त्रणबाट उठेको रकम गायब

3572
views

जितेन्द्र थापा
दैलेख, ८, पौष । कर्णाली प्रदेश अन्र्तगत दैलेखको ठाँटीकाँध गाउँपालिकामा मदिरा नियन्त्रणबाट उठेको रकम गायब भएको गुनासो बढेको छ । गाउँपालिकाभित्र मदिरा पियक्डको विगविगी बढेपछि मदिरा नियन्त्रण अभियान चालेको गाउँपालिकाले मदिरा नियन्त्रणबाट उठाएको रकम सार्वजनिक गर्न नसकेको सरकोरवालाले बताएका छन ।

विहान बेलुका छाक टार्न धौ–धौ भएकाहरुपनि मदिरामा तल्लिन भई ठाँटीकाँध बजारबाट उदारोमा घरेलु जाँड रक्सि पिएर अश्लिल गालिग्लौज गर्ने, झै–झगडा गर्ने जस्ता सामाजिक अपराधका घटना बढेपछि मदिरा नियन्त्रण समिति गठन गरी अभियान चालेको गाउँपालिकाले अहिले न अभियानलाई निरन्तरता दिएको छ न मदिरा पियक्डलाई कार्वाही गरी उठेको रकम सार्वजनिक गरेको छ ।

गाउँमा मदिरा पिउनेहरुको विगविगि बढेपछि ठाँटीकाँध प्रहरी, जनप्रतिनिधि स्थानिय समाजसेवी, स्थानीय युवा क्लब र सम्पुर्ण वडाका स्थानियवासिले २०७५ बैशाख ३० गते वडा नं २ को टोम्टाल्लाबाट गाँउपालिकाकै पहिलो मदिरा नियन्त्रण समिति गठन गरी ६ वटै वडामा धेरैलाई कार्वाही गरेको वडा नं २ का अध्यक्ष रुपलाल विश्वकर्माले बताए ।

समितिले गाउँपालिकाका सबै वडामा मदिरा सेवन गर्नेलाई पाँचहजार र वेचविखन गर्नेलाई दशहजार रुपैयाँ जरिवाना गरी अनुमानित पाँचलाख रुपैयाँ उठाएको थियो ।

मदिरा बेच्ने र खानेबाट उठेको उक्त रकमको सरोकावालाले खोजी गर्दा मदिरा नियन्त्रण समितिका अध्यक्ष लोग बहादुर थापाले विप्लवले लगेको जवाफ दिने गरेको स्थानीय समाजसेवी युवा क्लवका एक सदस्यको भनाई छ ।

अहिले पून सबै ठाँउमा घरेलु मदिराको विगविगि बढेको भन्दै ठाँटीकाँध गाउँपालिका वडा नं २ की स्थानीय सरुपा थापाले भनिन् ‘तात्कालिन निर्णयले न त स्थानीयले उत्पादन गरेको जाँड रक्सि नै रह्यो, नत पैसा नै, कार्वाही गरी उठेको रकम पनि टाउकेहरुले झ्वाम पारे ।’

गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीले मदिरा नियन्त्रणका क्रममा कार्वाही गरी उठेको रकम सार्वजनिक गर्ने र सो रकम सामाजिक हितमा परिचालन गर्ने बताएका छन् ।