समाचार लेख्दा गाउँनिकाला गर्ने धम्की, क्रान्तिकारी पत्रकार महासंघको निन्दा

1353
views

काठमाडौैं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका कोषाध्यक्ष रवि पाण्डेयलाई समाचार लेखेकै कारण गाउँ निकाला गर्ने धम्कीप्रति क्रान्तिकारी पत्रकार महासंघले निन्दा गरेको छ ।

पश्चिम नवलपरासीको बर्दघाट ४ दिव्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले पत्रकार रवि पाण्डेलाई गाउ निकाला गर्ने भनी दिएको धम्कीको हाम्रो संगठन घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेको क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।

समाचारमा चित्त नबुझे सम्बन्धित पत्रिमामा खण्डन छाप्ने तथा सम्बन्धित निकायमा उजुरी गर्ने निकाय हुँदा हुँदै गाउँबाटै निकाला गनुपर्ने धम्की सामाजिक सञ्जालबाट दिने लक्ष्मणनाथ योगीमाथि कडाभन्दा कडा कारबाही गर्न र पत्रकारको भौतिक तथा पेशागत सुरक्षामा यथाचित ध्यान दिन राज्यसँग महासंघ माग समेत गरेको छ ।

पछिल्लो समय समाचार लेखेकै कारण पत्रकारलाई अपराधीलाई झै हत्कडी लगाउने, धरपकड र धम्कीमार्फत् आतंकित पार्ने र आफ्नो कार्यथलोबाटै विस्थापित हुनपर्ने जस्ता घटनाक्रमहरु बढेको प्रति चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी यस्ता गतिविधिको क्रान्तिकारी पत्रकार महासंघले कडा विरोध गर्दै पत्रकारका निम्ति सुरक्षित बातावरण निर्माण गर्न राज्यको ध्यानाकर्षण समेत गराउन माग गरेको छ ।