लन्डन आतङ्ककारी आक्रमणमा सम्लग्न भएको आरोपमा बाह्रजना पक्राउ

656
views

लन्डन । मध्य लन्डनमा शनिबार राति भएको दुईवटा आतङ्ककारी आक्रमणमा संलग्न रहेको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए । प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ । उक्त दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ । केही व्यक्ति सामान्य उपचारपछि घर फर्किएका छन् ।
घटनामा संलग्न भएका तीन जना संदिग्ध हमलाकारी प्रहरीको प्रत्याक्रमणमा मारिएका थिए । बेलायतमा केही दिन पहिले आयोजित साङ्गितिक साँझको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टरमा भयानक विस्फोट गरी २२ जनाको हत्या गरिएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।