कालिका वहुमुखी क्याम्पस पोखरामा आयोजित खुल्ला कविता प्रतियोगितामा तृतीय हुन सफल

730
views

⌈कविता⌉

सुस्मिता रेग्मी
के को कविता सुनाऊँ ?
महोदय,
हजुरलाई म के को कविता सुनाऊँ ?
कसोरी सुन्न सक्नुहन्छ तपाईँ ?
म कसोरी सुनाऊँ ?
मेरा यी काँपिरहेका हात र थर्थराएका औँलाहरुले
केरमेट गरेका काला अक्षरहरु ।

काला अक्षर भैँसी वरावर भन्छन्
तर,
म यी अक्षरहरु र यो वस्तीका मान्छेहरु उस्तै देख्छु ,
दुरुस्तै देख्छु ।
तिनीहरु भयानक छन्, उग्र छन्
हर्न सकिँदैन तिनीहरुको आँखामा
सुन्न सकिँदैन तिनीहरुको बोली
र हिँड्न सकिँदैन ढुक्क भई ऊ त्यो वाटोे भएर ।
हजुर लाई म के को कविता सुनाऊँ ?

म कसोरी सेवा गरुँ अफिस सम्म पुगेर
त्यै वाटो भएर ओहोरदोहोर गरी
जोगीएर हिँडेपनी यी सफरहरुमा
ती दुष्टहरुका नजरवाटै लुटिनु पर्छ मलाई ।
हजुर लाई म के को कविता सुनाऊँ ?

मनमा सगरमाथाभन्दा ठुला भयका पहाड लिएर हिँड्नु पर्छ,
कहिले सम्म यसरी यात्रा गर्नुपर्छ सरकार मैले ?
तेरा विधानका ठेलीमा चेलीका वुँदा
कती र कस्ता छन् वुझेको छस ?
अहँ छैनः
न बुज्छन् यी वस्तीका टाई कोट धारीहरु ।
भन्नुस् अव म हजुरलाई के को कविता सुनाऊँ ?

ओ कस्लाई थाह छ भन्देऊ त
म पन्छी वनेर खुला आकाशमा कहिले उड्न पाउँछु ?
खै मेरो स्वतन्त्रता ?
म कहिले मेरो दाई समान हुन सक्छु
भाई समान हुन सक्छु ।
नसक्ने हैन म सक्छु
तर
यो समाजले मेरो साहस किन दवाईदिन्छ ?
भन्नुस महोदय
म हजुर लाई के को कविता सुनाऊँ ?

जिन्दगीभर कहिल्यै पनि कहिले फेर्नु पर्दैन
मैले मेरो थर
म जन्मेको घर
कहिले समान हुन सक्छु म मेरा दाजुभाई सरह
हजुर लाई म के को कविता सुनाऊँ?

कहिलेसम्म मेरा दिदिवहिनीहरु छाउगोठ वस्नु पर्छ ?
दाईजो नलगेको निऊमा
अपहेलना सहनु पर्छ,
मेरा आमा र आन्टीहरुले वोक्सीको आरोप खप्नुपर्छ,

कहिले पाउँछ निर्मलाको आत्माले न्याय ?
भन्नुस म हजुर लाई के को कविता सुनाऊँ ?

परिवारको खुशी खोज्नको लागी
कहिलेसम्म धाइरहनु पर्छ मेरा श्रीमान
छितिज पारीको त्यो विरानो मुलकमा ?
कहिले सम्म फर्कीनु पर्छ रातो वाकसमा
नेपाल आमाका हजारौँ छोराहरु ।
र कहिले सम्म पुछ्नुपर्छ
शिरको सिन्दुर
फोड्नुपर्छ हातका चुरा र काट्नुपर्छ वेरङ्गीमा बाँकी जीवन ।
महोदय,
भन्नुस हजुर लाई म के को कविता सुनाऊँ ?

फलेवास, ७, लिमिठाना, पर्वत