प्रथम अध्यक्षकप भलिबल एवं सांगितिक प्रतियोगिता हुँदै

915
views

सीताराम थापा
बाग्लुङ, १७, पौष । बागलुङको काठेखोला गाउँपालिकामा आगामी माघ तेस्रो साता प्रथम अध्यक्ष कप भलिवल एवं सांगीतिक प्रतियोगिता हुने भएको छ । कार्यक्रमको लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बुधबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।काठेखोला गाउँपालिका भित्रका खेलाडीको पहिचान गर्ने उद्धेश्यले भलिवल आयोजना गरिएकाले काठेखोला बाहेक अन्य पालिकाका खेलाडीले सहभागि हुन पाउने छैनन् ।

काठेखोला गाउँपालिकाको आयोजनामा माघ १५ गतेदेखि १८ गतेसम्म हुने अध्यक्ष कप भलिवलको विजेताले १ लाख ३२ हजार रुपैयाँ पाउनेछन् भने उप विजेता हुनेले ८० हजार रुपैयाँ पाउने छन् । खेलको लागि बाबुराम भण्डारीको संयोजकत्वमा दिल बहादुर कार्की र विश्व गौतम रहेको तीन सदस्यीय समिति गठन गरिएको पालिका अध्यक्ष अमर थापा मगरले जानकारी दिएका छन ।

काठेखोला गाउँपालिका–३ धम्जामा हुने कार्यक्रममा काठेखोला लोकतारा–२०७६ समेत समाबेस गरिएको छ । काठेखोला लोकतारामा प्रथम हुनेले ३० हजार, फष्ट रनरअपले २० हजार, सेकण्ड रनरअप हुनेले १० हजार र सान्तवना हुनेले २५ सय रुपैयाँ र गजल तारा प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ७ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

यसमा सोरठी प्रतियोगिता समेत गरिने छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।यश अन्तरगत कक्षा १० सम्मका विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता समेत गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ७० हजार र तृतीय हुनेले ५० हजार रुपैयाँ जित्नेछ ।