‘पौडेल पक्षको मोर्चाबन्दीले वाक्क भएँं’

774
views

इटहरी,१७ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र विवाद नेता रामचन्द्र पौडेल पक्षको मोर्चाबन्दीले वाक्क भएको बताएका छन । उनले पोडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको बताए ।

‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका आधारमा केही निर्णय गरेको हो,’ सभापति देउवाले मेलमिलाप दिवसका अवसरमा सुुनसरीको इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बाध्यताले बहुमतले केही निर्णय गर्नुपरेको हो ।’ देउवाले पार्टीभित्र जतिसुकै राम्रो काम गर्दा पनि पौडेल पक्षले जस नदिएको गुनासो गरे ।

देउवाले एक अर्को प्रसंगमा सत्तारूढ दल नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्नु लाजमर्दो भएको बताए । ‘सत्तासीन नेकपाले सभामुख र उपसभामुख टुंगो नलगाउँदा संसद् नै बन्धक भएको छ,’ उनले भने । देउवाले ओली सरकार अहिलेसम्मकै नालायक भएको टिप्पणी पनि गरे ।

प्रदेश सांसद ज्योति सुब्बाले पार्टी एक ढिक्का भएमात्र मिलमिलापको अर्थ रहने बताइन्। ‘पार्टी्भित्र एकता नभए मेलमिलापको अर्थ हुँदैन,’ उनले भनिन् ।

संघीय सांसद सीताराम मेहेताले पार्टीभित्रको चरम गुटबन्दीले कार्यकर्तामा निराशा बढेको बताए । केन्द्रीय सदस्य नरेन्द्र चौधरीले कांग्रेसभित्रका गुटउपगुट चिर्न मेलमिलाप आवश्यक रहेको बताए । केन्द्रीय सदस्य अमृत अर्यालले पार्टी्भित्रको एकता र मेलमिलाप हेर्न सुनसरी आउनुपर्ने बताए। कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छेदार, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, ज्ञानेन्द्र कार्की, महेश आचार्य, नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालालगायतले गुटउपगुट सुनसरीमा नभएकोे जिकिर गरेका थिए ।