बलिउडका पाँच सुपरस्टार हिरोहरु

484
views

 

२२ पुष २०७६

मुम्बई ः २०१९ सकिएको छ। वर्ष सकिएसँगै बलिउडका कुन स्टारले कति कमाए भन्ने हिसाबकिताब सुरु भएको छ। कसले कसलाई उछिने अनि को पछि पर्‍यो भन्ने लेखाजोखा भइरहेको छ। कुन हिरोको कुन फिल्मले ज्यादा कलेक्सन गर्‍यो अनि को पछि पर्‍यो बक्स अफिस रेकर्ड खोतल्न थालिएको छ।

‘गुड न्युज’ र दबंग– ३ अझै सिनेमाघरमा चलिरहेको छ। यी फिल्मले २०१९ मा पनि राम्रो व्यापार गरेका थिए। २०२० मा पनि राम्रै गरिरहेका छन् तर यहाँ यी फिल्मले २०१९ मा गरेको व्यापारलाई मात्रै आधार बनाइएको छ। फिल्मले गरेको व्यापारको आधारमा यहाँ बलिउडका उत्कृष्ट पाँच स्टारलाई प्रस्तुत गरिएको छ।

अक्षय कुमार

सात सय ६० करोड कुल व्यापार गरेर अक्षय कुमार यो वर्ष बलिउडका एक नम्बर हिरो बने। यो वर्ष उद्योग अक्षयको पकडमा रह्यो। यो वर्ष उनको करिअरकै लागि उत्कृष्ट रह्यो। उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए। विगतका वर्षहरूमा बलिउड खानको पकडमा थियो तर यस वर्ष उनीहरूको किल्ला अक्षयले भत्काइदिएका छन्। उनको फिल्म केशरीले एक सय ५३ करोड, मिसन मंगलले दुई सय दशमलव १६ करोड र हाउसफुल– ४ ले दुई सय ६ करोड रुपैयाँ कलेक्सन गरेको थियो। गुड न्युजले पहिलो सातामै एक सय २७ करोड रुपैयाँ कलेक्सन गरेको थियो। यो फिल्मको लाइफ टाइम व्यापार दुई सय करोड मानिएको छ। यो कलेक्सनको साथमा अक्षय नम्बर एक पोजिसनमा छन्।

ऋतिक रोशन

कुल व्यापार चार सय ६४ दशमलब १० करोड रुपैयाँ कलेक्सन गरेर ऋतिक दोस्रो नम्बरमा परेका छन्। यो वर्ष रोशनको आफ्नो करिअरकै सबैभन्दा हिट फिल्म ‘वार’ आयो। यसले तीन सय १८ करोड रुपैयाँ कलेक्सन गर्‍यो। सुपर ३० बाट ऋतिकले आफूभित्रको अभिनय कौशल देखाए। यो फिल्मले बक्स अफिसमा एक सय ४६ करोडभन्दा माथि कलेक्सन गर्‍यो। दुवै फिल्मको कुल कलेक्सन चार सय ६४ दशमलव १० करोड रुपैयाँ रह्यो।

टाइगर श्राफ

कुल व्यापार तीन सय ८८ दशमलव ६६ करोड रुपैयाँ गरेर टाइगर श्राफ तेस्रो नम्बरमा रहे। करिअर सुरु गरेको छोटो समयमा नै उनले बलिउडमा आफ्नो उपस्थिति बलियो बनाए। वारमा ऋतिक पनि छन् तर यसले टाइगरको सफलतालाई असर पारेन। उनको फिल्म वारले तीन सय १८ करोड र स्टुडेन्ट अफ दी इयर–२ ले ७० दशमलब ६६ करोड कलेक्सन गर्‍यो। दुवै फिल्मको कलेक्सन जोड्दा तीन सय ८८ दशमलब ६६ करोड हुन जान्छ।

सलमान खान

कुल व्यापार तीन सय ६९ दशमल ३६ करोड कलेक्सन गरेर सलमान खान चौथो नम्बरमा परे। भारतले दुई सय नौ दशमलव ३६ करोड रुपैयाँ कलेक्सन गर्‍यो। दबंग– ३ सिनेमा घरमा चलिरहेको छ। फिल्मले अहिलेसम्म एक सय ४८ करोड कलेक्सन गरिसकेको छ। दुवै फिल्मको कुल कलेक्सनले सलमानलाई यो स्थानमा पुर्‍याएको हो।

आयुष्मान खुराना

कुल व्यापार तीन सय १९ दशमलब १३ करोड रुपैयाँ गरेर आयुष्मान खुराना पाँचौं नम्बरमा देखिए। उनको ड्रिमगर्लले एक सय ३९ दशमलव ७० करोड रुपैयाँ, आर्टिकल– १५ ले ६३ दशमलव ०५ करोड रुपैयाँ र बालाले एक सय १६ दशमलव ३८ करोड कलेक्सन गर्‍यो। तीनैवटा फिल्मको कलेक्सन जोड्दा उनी पाँचौं स्थानमा देखिए। उनका तीनवटै फिल्म हिट भए।

एजेन्सी