लिम्पियाधुरा सिमा अतिक्रमणबारे पोखरामा वहस

813
views

गोपाल जिसी
पोखरा, २७, पौष । भारतले लिम्पियाधुरापूर्वका कुटी, नाभी, गुञ्जी, कालापानी, लिपुलेकलगायत नेपालका धेरै सीमा मिचेर आफ्नो सुरक्षाफौज राखेको छ । भारतले सिमा अतिक्रमण गरी नेपालको सार्वभौकितामाथि गम्भिर प्रश्न उठिरहेका बेला पोखरामा चार राजनीतिक संगठनको आयोजनामा ‘सिमा समस्या र लिम्पियाधुरा’ विषयमा बहस केन्द्रित गरिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, समाजवादी पार्टी, नेकपा माले र राष्ट्रिय जनमोर्चाको आयोजनामा ‘सिमा समस्या र लिम्पियाधुरा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ‘सिमा समस्या र लिम्पियाधुरा’ को विषयमा गहिरो अनुसन्धान र तथ्यगत प्रमाण संकलन गरी ‘सिमा अतिक्रमणको चपेटामा लिम्पियाधुरा’ पुस्तक प्रकाशन गरेका लेखक रतन भण्डारीले सुगौली सन्धीपछिको इतिहास सहित सिमा अतिक्रमणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

भण्डारीले नेपालको सार्वभौमिकता विरोधी सन् १८१६ को सुगौली सन्धीद्वारा निर्धारित महाकालीको शिरानी लिम्पियाधुरा क्षेत्र आफुतिर पार्ने भारतको दुष्प्रयासबारे संकलित तथ्यगत प्रमाण पेश गरेका थिए ।

उनले सन्धी सम्झौतामा पश्चिमी सीमा, कालापानी प्रकरण, महाकालीको मुहान लिम्पियाधुरा, नक्शामा कालीको मुहान, लिपुलेक प्रकरण, लिम्पियाधुरा–लिपुलेकको सामरिक महत्व, लिपुलेक सम्झौतापछिका घटनाक्रम, व्यास क्षेत्र, नेपाल–चीन सिमा सन्धी लगायतका विषयमा तथ्यगत प्रमाणहरु सहित पेश गरेका थिए ।

भण्डारीको कार्यपत्रमाथि प्रा.डा. कृष्ण केसीले टिप्पणी गरेका थिए । केसीले रतन भण्डारीद्वारा प्रस्तुत कार्यपत्र समग्रमा ऐतिहासिक अभिलेख भएको भन्दै भारतले नेपालीहरुलाई हेपिरहेको बताए । उनले भारतद्वारा सिमा अतिक्रमणका विरुद्व नेपाल सरकाले कुटनीतिक पहल चाल्नुपर्ने बताउँदै राष्ट्रियतका सवालमा जनस्तरबाटै आन्दोलनको उभार सिर्जना गर्नुको विकल्प नभएको बताए ।

केसीले नेपाल सरकारले गुमेको भूमि सहितको नक्सा तत्काल जारी गर्नुपर्ने सुझाउँदै सिमा समस्यामा सरकार निदाय आम नागरिक समाज, वुद्धिजिवि, लेखक, राष्ट्रवादीहरुले आन्दोलनको उठान गनुृपर्नेमा जोड दिए ।

पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालप्रति भारतको नियत खराब भएको चर्चा गर्दै सिमा अतिक्रमणका विषयमा कदम चाल्न सरकारलाई जनस्तरबाटै दवाव सिर्जना गर्नुपर्ने बताए । उनले भने ‘सीमा समस्याका विषयमा जनस्तरमा आवाज घन्किदा सरकार काम गरेजस्तो गर्ने र वास्तविकतामा जाने जुन परिपार्टी बनेको छ यसका विरुद्ध खवरदारी नगर्ने हो भने भारतले नेपालको प्राकृतिक स्रोत साधनको खुलेरै दोहन गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गिरिराज गौतम, उद्योग बाणिज्य संघ पोखराका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, स्वतन्त्र बामपन्थी नेता रामराज रेग्मीले नेपालको सार्वभौकितामाथि गिद्वेनजर लगाउने भारतका विरुद्ध जुनसुकै संघर्ष गर्न परेपनि सरकार चुक्न नहुने भन्दै आवश्यक परे तथ्य, प्रमाण र नक्सा सहित अन्तराष्ट्रिय अदालतसम्म पुग्नुपर्ने बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा गण्डकी प्रदेशका अध्यक्ष नेत्र रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले दिनदहाडै देशको सिमा अतिक्रमण भईरहँदा मौन बस्ने सरकारको गतिविधि नै शंकाष्पद भएकोले सरकार मौन बस्नुको कारण सहित वास्तविक नेपालको नक्सा जारी गर्न सुझाए ।

कार्यक्रमको सञ्चालन समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पोखरा महानगरपालिकाका अध्यक्ष टिकाराम पौडेलले गरेका थिए ।

कार्यक्रममा लेखक रतन भण्डारीले संकलन गरेका प्रमाणसँगै विभिन्न सञ्चार माध्यममा छापिएका कार्टुन, लिम्पियाधुरा–लिपुलेकमा भएको हाम्रो पूर्वाधारसँगै सुरक्षा अवस्था, सिमा मिचिदा नेपाली सेनालाई परिचालन गरिएको ठेक्कापट्टा र सडक निर्माणमा परिचालित सेनाका व्यंगात्मक तस्विर समेत प्रस्तुत गरेका थिए ।