तमानखोला हत्या प्रकरणः बन्दुकसहित ९ जना पक्राउ

666
views

सीताराम थापा
बागलुुङ, २८, पौष । बागलुुङको तमानखोला गाउँपालिकामा चार थान भरुवा बन्दुुक सहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरी सार्वजनिक गरेको छ । तमानखोला गाउँपालिका– १ का ओमबहादुुर घर्तीको बाँदर धपाउन जाने क्रममा आफैले बोकेको बन्दुक पड्किएर मृत्यु भएको भनिए पनि घटना रहस्यमय भएपछि प्रहरीले उजुरी र अनुसन्धान प्रकृयामा भरुवा बन्दुक सहित ९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले तमानखोला–१ का २५ बर्षिय भेष बहादुर बुढा, ४० बर्षिय खट्के दमाई, २० बर्षिय भिमबहादुर नेपाली, ३५ बर्षिय दुर्गा बहादुर घर्ति, ४७ बर्षिय देव बहादुर पुन, ६७ बर्षिय देब्रे काईला भनिने प्रेम बहादुर पुन, ३९ बर्षिय पृथी बहादुर घर्ति, तमानखोला–३ का ३५ बर्षिय लोकबहादुर पुन र फर्ष बहादुर बुढालाई प्रक्राउ गरि अनुशन्धान प्रकृया अगाडी बढाएको छ ।

प्रहरीहरुले पृथी बहादुर घर्ति, दुर्गा बहादुर घर्ति र खट्केङ दमाईको घरबाट १–१ थान भरुवा र घटनास्थलबाट १ थान बन्दुक बरामद गरेको एसपि भट्टले बताए । चार थान भरुवा बन्दुुक विना दर्ता रहेको समेत खुलेको बताईएको छ। तीन थान बन्दुकमा भरुवा बन्दुुक अझै लोड गरेको अवस्थामा नै रहेका छन ।

पक्राउ पर्नेहरुलाई जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिएका छन। घटना तमानखोलाको साँसबाङको जंगलमा बाँदर लखेट्न जाँदा भनिए पनि सबै मिलेर शिकार खेल्न जाने क्रममा नै घटना भएको प्रहरी दावी छ ।

मृतक घर्तिको शरिरमा तीन वटा छर्रा लगेको थियो । ओमबहादुर घर्तिको शव पोष्टमार्टम पछि शनिवार बेलुुका परिवारको जिम्मा लगाएको र पोष्टमार्टमको रिर्पोट आउन बाँकी रहेको प्रहरी उपरिक्षक भट्टले जानकारी दिए ।

मृतक घर्तीको छोरा मेघ बहादुर घर्तिले नौ जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी उजुरी दिए । परिवारको उजुुरीको आधारमा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुशन्धानको आधारमा नियतले नै हत्या भएको नदेखिए पनि उनीहरुबाट अवैध हतियार बरामद गरिएकाले अवैध हतियार खरखजना मुद्दामा ५ बर्ष जेल र ५० हजारसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा एसपि भट्टले कसैसँग अवैध हातहतियार भए तत्काल जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाउन अनुरोध गरिएको छ ।