मुलुकको ४० औं प्रमको लागि देउवालाई ३९१ सांसदको साथ

663
views

काठमाडौं, २३, जेठ । चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लाग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमलगायत केही साना दलको समर्थनमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने दलहरू धेरै भए पनि केही दल मात्रै तत्काल सरकारमा जानेछन् । सरकारको मुख्य घटक माओवादी केन्द्र र कांग्रेसबीच नै मन्त्रालय भागबन्डाका विषयमा अन्तिम निर्णय भइसकेको छैन । देउवानिकट एक नेताका अनुसार प्रधानमन्त्री चयन भएपछि मंगलबार साँझ सानो मन्त्रिमण्डलको नाम टुंगो लगाउने तयारी छ । ’सम्भवतः बुधबार प्रधानमन्त्रीको शपथ हुने भएकाले मंगलबार साँझसम्ममा माओवादी र कांग्रेसबाट पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रालय र मन्त्रीको टुंगो लाग्नेछ’, ती नेताले भने, ’सानो मन्त्रिमण्डल बनेपछि मात्रै कुन–कुन दल सरकारमा सहभागी हुने भन्ने विषयमा थप छलफल हुन्छ ।’
स्थानीय चुनावका लागि पनि केही मन्त्रालयमा मन्त्री आवश्यक पर्ने भएकाले गृह, अर्थ, स्थानीय विकास, कानुनलगायत मन्त्रालयमा बुधबार नै मन्त्री तोक्ने तयारी छ । गृह मन्त्रालय माओवादी केन्द्र र अर्थ मन्त्रालय कांग्रेसले लिने सहमति दुई दलबीच भइसकेको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउने लगभग टुंगो लागिसकेको स्रोतको दाबी छ ।
पार्टीभित्रको विवादबीच सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा आउने वा नआउने विषयमा पनि अझै टुंगो लागेको छैन । कांग्रेस र माओवादीभित्र भने संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने लिखित सहमति नभएसम्म उसलाई सरकारमा सहभागी गराउन नहुने दबाब छ ।