त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित

737
views

काठमाडौं, ४ माघ । काठमाडौंमा लागेको बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बाक्लो कुहिरोका कारण भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको छ ।

महाशाखाका मौसमविद शान्ति कँडेलका अनुसार विमानस्थलको भिजिविलिटी ५० मिटर मात्र रहेको छ । हुस्सु केही घण्टापछि हट्ने उनले बताइएन् । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ ।

भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । शनिबार दिउँसोसम्म मौसम आंशिकदेखि समान्य बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । ठूलो वर्षा र हिमपात भने नहुने मौसमविद कँडेलले बताइन्।