लामिछानेको निधनले क्षति पुग्यो–बाबुराम भट्टराई

1619
views

पर्वत, ४, माघ । संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछानेको निधनले जनमुक्ति आन्दोलनमा क्षति पुगेको बताउनुभयो ।

शनिवार मोदीगाउँपालिकाको तिलाहारमा आयोजित महेन्द्रजंग लामिछानेको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष भट्टराईले व्यक्तिगत रुपमा लामिछानेसँग लामो सहकार्य गरेको बताउँदै उहाँ मुक्ति आन्दोलनको अविचलित रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भन्नुभयो ‘मैले महेन्द्र जि सँग लामो समयसम्म सहकार्य गरें, उहाँ मुक्ति आन्दोलनको अविचलित पात्र हुनुहुन्छ, उहाँको अप्रत्यासित निधनले पारिवारीक रुपमा गहिरो चोट त पुर्यायो नै, सिंगो पार्टी र मुक्ति आन्दोलनलाई समेत गम्भिर क्षति पुर्याएको महसुस गरेको छु ।’

श्रद्धाञ्जली सभाको सञ्चालन संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष नविन पुनले गर्नुभएको थियो ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य रहेका मोदी गाउँपालिका–६ निवासी महेन्द्र जंग लामिछानेको यहि पौष २४ गते ५१ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

सहकारी महासंघको साधारण सभामा जानेक्रममा गाडीमा अचानक बेहोस भएका लामिछानेलाई बानेश्वर स्थित सिभिल अस्पतालले मृत घोषणा गरेको थियो ।