नेपाल वायुसेवा निगमका अध्यक्षले दिए राजीनामा

569
views

काठमाडौं, ६, माघ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । नियुक्ति भएदेखि नै आलोचनामा परेका उनको काममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पटकपटक असन्तुष्टि जनाएका थिए ।

मन्त्रीको चर्को असन्तुष्टिकाबीच उनले आइतरबार राजीनामा बुझाएको स्रोतले बताएको छ। खरेलजीको राजीनामा आएको छ, मन्त्री भट्टराईनिकट श्रोतले भन्यो, उहाँको काम चित्त बुझ्दो नभएपछि बाटो खाली गरिदिन भनिएको थियो । मन्त्री भट्टराईले पटक-पटक हटाउन सक्ने चेतावनी दिइरहँदा राजीनामा बुझाएर खरेल बाहिरिएका हुन् ।

निगमको बढ्दो घाटा, वाइडबडी विमानका लागि गन्तव्य खोज्न नसक्नुलगायतका कारणले उनीमाथि पद छाड्न दबाब बढेको थियो । खरेलले निगममा केही दिनका लागि काम चलाउन अर्का एकजनालाई जिम्मेवारी दिएका छन् । म केही दिन बिदामा हुने भएकोले दैनिक कामकारवाही चलाउनु होला भनेर पत्र आएको छ, नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने ।