छैटौँ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा

1570
views

निर्मल पौडल
पर्वत, ७, माघ । पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म आयोजित महोत्सवको तयारी अन्तिम–अन्तिम चरणमा पुगेको हो ।

अहिले महोत्सवको तयारी स्वरुप विभिन्न कामहरु धमाधम भइरहेको उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिए । महोत्सवको गेट, मञ्च, रमाईलो मेला ब्यबस्थापनदेखि लिएर प्रचारप्रसारको कामहरु भैरहेको उनले बताए ।

आयोजना स्थलमा मनोरञ्जन तथा बाल उद्यानहरु, साँस्कृतिक झाँकीको तयारीदेखि कलाकारहरुको नामावली लगायतका सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुगेको संयोजक शर्माले बताए ।

यस वर्षको महोत्सवमा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराइने भएको छ । आफ्नो संस्कृति झल्काउने र कृषिका स्टलहरुलाई बढी प्राथमिकता दिइएको छ ।

अहिले सम्म ९० प्रतिशत स्टल बुकिङ्ग सकिएको महोत्सवका आर्थिक संयोजक तथा वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले जानकारी दिए । महोत्सवमा २ सय स्टल रहने पनि अधिकारीले बताए ।

महोत्सवमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताए ।