एमाले कार्यालयमा कालोझण्डा, कार्यकर्ताद्वारा शक्ति प्रर्दशन

602
views

गाईघाट, २३, जेठ । उमेदवारको बिषयलाई लिएर नेकपा एमाले चौदण्डी नगरपालिकाभित्र भएको चरम विवादपछि आक्रोशित कार्याकर्ताले मंगलबार एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गरेका छन् । कार्यकर्ताले पार्टी कार्यालयमा कालोझण्डा समेत राखेका छन् । नगर कमिटीले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै एमालेभित्रकै कार्यकर्ताहरु आक्रोषित बनेका हुन् ।
कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुका साथै पार्टी कार्यालयका दुई थान कुर्सी समेत जलाएका छन् । उनीहरुले बेल्टार बजारमा शक्ति प्रर्दशन गरेका छन् । कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी निरीक्षक चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताउनुभयो ।
पार्टीको केन्द्रीय सर्कुलर वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद भएको हो ।