‘झाडी फडानी रोक्न बसाई सरेका सक्रिय’

3538
views

पर्वत, ९, माघ । ‘ग्रिन फलेवास, क्लिन फलेवास’ को अभियानसँगै घरवरपरको तप्केनी फडानी गरी उत्पादनलाई बढाउने अभियानमा लागेका नगरवासीले थालेको फडानी कार्य रोक्न घरमा चाबी लगाएर बसाई सरेकाहरु सक्रिय भएको स्थानीयको भनाई छ ।

घरवरपर भएका बुढा रुखहरुसँगै काठ दाउँरामा प्रयोग नहुने काठ र घाँसका नाउँमा ओसेप बनाउने चिन्ने, खिर्रो, फदेलो, सजिवन, लालपाते, कटुस, चिलाउने, आँप जस्ता ओसेपिला रुखहरु काट्ने अभियान रोक्न घरमा चाबी लगाएर शहरमा बसी रुख, झाडी हुर्काउने समुह उद्धत भएको स्थानीयले बताए ।

नगरपालिकाभित्र शुरु भएको फडानीको विषयमा स्थलगत अध्ययनका लागि गएको सञ्चारकर्मीको टोलीसँग कुराकानी गर्दै फलेवास नगरभित्रका वडावासीले फडानी कार्यमा सामन्त प्रवृत्ति हावी गराउन नगरवासीको झाडी फडानी अभियान रोक्ने प्रयासमा लागेको आरोप लगाए ।

स्थानीय गोपाल लम्सालले ‘हिजोका साहिला, माहिला, कान्छा साहुको जमाना सकिएपनि उनीहरुको प्रवृत्ति समाजमा कायमै रहेको भन्दै नगरवासीको अभियानमाथि कुनै प्रकारको खेलवाड नर्गन आग्रह गरे । उनले भने ‘फडानी अभियानमा घरमा चाबी लगाएर शहरमा बस्ने फलेवासका साहुमहाजनले पालेका रुख, झाडीहरुसमेत काटिने भएपछि उनीहरुको एउटै मात्र विकल्प अफवाह फैलाउने र जसरीपनि फडानी कार्य रोक्ने षडयन्त्र हो ।’

घरवरपर काठमा पनि प्रयोग गर्न नमिल्ने दबदबे, फदेलो, पंदेले, चिन्ने, बडहर जस्ता चट्याङ पर्ने रुखहरु हुर्काएर बस्ती जोखिममा पर्दै जाँदा नगरवासीले पटकपटक कटनीको माग गर्दा पनि सुनुवाई नभएपछि नगरवासीको सहमतिमा टोल विकास समिति र वडाको मापदण्ड अनुसार फडानी गर्दा उक्त समुहलाई पाच्य नभएको स्थानीय तोयानाथ पौडेलले बताए ।

घर, कटेरा र शौचालयलाई असर गरेका रुख, विरुवा र झाडीहरु फडानी गर्न सबै स्थानीयवासी रुजु भएको बताउँदै पौडेलले भने ‘‘फडानीपछि सागसब्जीसँगै फलफुलका बिरुवाहरु लगाएर व्यावसायमुखी उत्पादनलाई बढवा दिन जरुरी छ, अब टोल विकास समिति, वडा कार्यालय तथा नगरपालिकाले ‘विरुवा हाम्रो फल’ तपाईको अभियान ल्याई उत्पादनमुखी बनाउन जरुरी छ ।’

नगरपालिकाभित्र अनावश्यक रुख र झाडीलाई हटाउने काम गरेको भन्दै स्थानीय खड्ग लामिछानेले भने ‘जसरी वर, पिपल र शमीका रुखहरु ढालिएको भनी प्रचार गरिएको छ त्यो सरासर झुट्टा हो, अहिले सडकमा हटाउनुपर्ने थुमाएको वर, पिपललाई तिलको पहाड बनाएर अर्नगल प्रचार गरिएको छ ।’

नगरवासीले टोल विकास समितिले बनाएको मापदण्ड अनुसार शौचालय देखि ५ मिटर र घरदेखि २० मिटरको दुरीमा रहेको रुख तथा झाडी फडानी गरेको फलेवास नगरपालिका वडा नं ५ खानेपानी टंकी निर्माण समिति तथा टोल विकास समतिका अध्यक्ष दिपक थापाले बताए ।

घरवरीपरी हुर्केका रुखहरु ढाल्दा केहीलाई असर पर्न गएपनि समग्र समाजको लागि मापदण्ड अनुसारको फडानी कार्यले रुख, जंगल र झाडीले ढाकेर उब्जनी खान नपाएको बस्तीमा घाम पर्नुको साथै खेतीयोग्य जमिनमा उत्पादनको वृद्धि हुने अपेक्षा गरिएको स्थानीय ईन्द्र सापकोटा र हुतराज शर्माको भनाई छ ।

नगरवासीले थालेको फडानी अभियानमा घरवासीले भन्दा पनि घरमा चाबी लगाएर बसाई सरी गएकाहरुको विरोध आएकोले उनीहरुलाई समेत नगरवासीको निर्णय सही छ भनेर प्रष्ट्याउँदै घरवरपरको झाडी बुटयानले जंगली जनावरको बढ्दो आतंक, बाँदरले पुर्याएको क्षति र ओसेपले सखाप पारेकोले खेतीका बारेमा प्रष्टयाउन सबैले भुमिका खेल्नुपर्ने बताए ।

नेपालको कानून वन ऐन अनुसार कुनैपनि निजि व्यक्तिको साँध, सिमानाभित्र पर्ने रुख विरुवा कटानी गर्दा सम्बन्धित निकाएको पूर्जि लिई कटानी गर्ने व्यवस्था भएपनि नगरवासीले भने घरवरपर झाडी भएको भन्दै फडानी कार्यलाई तिव्रता दिएका छन् ।