एमालेका कारण कहिल्यै सहमति जुटेन–प्रचण्ड

627
views

काठमाण्डौ, २३ जेठ । तत्कालिन कांग्रेसका सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाएर राष्ट्रिय सरकार गठन गर्न एमाले नमान्दा राजनीतिक अस्थिरता बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई छ ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नुहोस्, हामी सहकार्य गरी राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्न तयार छौँ, भनेको थिए तर एमाले नै नमानेको मंगलबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्दा राजनीतिक अस्थिरता कायमै भएको र सरकार परिवर्तनको शृङ्खला दोहोरिएको हो ।’ प्रचण्डले एमालेले संघीयता, समानुपातिकता, समावेशिता जस्ता विषय सुन्नै नचाँहदा संविधान संशोधनलगायतका विषयमा सहमति जुट्न नसकेको समेत बताउनु भयो ।
‘एमालेको नेतृत्व संघीयता, समानुपातिकता, समावेशिता जस्ता कुरालाई अझै स्वीकार गर्न सकेको छैन, उसले संघीयतालाई स्वीकार गर्न अझैसम्म नसक्दा हामी अझै राष्ट्रिय सहमतिका साथ अघि बढ्न सकेका छैनौँ ।’
प्रधानमन्त्री प्रचण्डले देउवाको दबाबका कारण आफूले राजीनामा नदिएको समेत प्रष्ट पार्नु भएको छ । ‘मेरो राजीनामा कांग्रेस अथवा कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा आएको होइन सहमति अनुसार नै मेरो राजीनामा आएको हो ।’
प्रचण्डले आफूले पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएर राजीनामा दिएको स्वीकार गर्नु भएको छ ।
‘बालुवाटारमा शेरबहादुर देउवाजीसँगको छलफलमा पहिलो चरणको निर्वाचन सकेर राजीनामा दिन्छु भनेको थिएँ । जब पहिलो चरणको निर्वाचन व्यापकतापूर्वक सम्पन्न भयो, मैले नैतिक रुपमा राजीनामा दिएको हुँ ।’