मेला–महोत्सवको गरिमा

134
views

-रिना खनाल
केही समय अघिसम्म मेला महोत्सव भनेपछि मानिस हुरुक्क हुन्थे । मानिसमा अनेक खालका उत्साह, उमंग मनमा खेल्थे । मेला हेर्न हजारौं लाखौंको संख्यामा मानिस विभिन्न जिल्लाबाट आउँथे, किनकि त्यतिबेला सीमित जिल्लामा मात्र हुन्थ्यो । मेलामा स्थानीय स्तरमा उपलब्ध खाद्यान्न सुलभ हुन्थ्यो, सुपथ मूल्यमा पाइन्थ्यो । मेलाका लागि विशेष स्थल पहिचान गरिन्थ्यो । सबैमा एक प्रकारको जिज्ञासा हुन्थ्यो, महोत्सव कस्तो हुन्छ भन्ने । साथै, उत्साह पनि । त्यतिखेर संचारका माध्यमहरुको यस्तो विकास भइसकेको थिएन । मात्र रेडियो कहीं कहीं मात्र, मोबाइल त सपनामा पनि थिएन । मानिसहरु टाढा टाढाबाट मेला हेर्न कि काम सकेर अथवा एक दिन भए पनि काम थाँति राखेर पुग्थे ।

अचेल मेला महोत्सवमा हुनुपर्ने गुण देखिदैन । मर्म मर्दै गएकोले लगाव, आकर्षण देखिदैन । फलस्वरुप महोत्सवप्रति उत्साह देखिदैन । यसको मुख्य कारण भनेको महोत्सवको विशेषता नबुझ्नु त हो नै जहाँ पनि जति बेला पनि आयोजना गर्ने होडबाजी पनि हो । अहिले आवश्यकता भन्दा पनि अनाहकको फेसन बन्नु मुख्य कारण हो । साथै जुनसकै संघसंस्थाले पनि आयोजना गर्नु । थप कारणमा महोत्सवलाई राजनीतिक प्रतिस्पर्धाको थलो बनाउनु एवं यसबाट आफ्नो राजनीतिक स्वार्थ र अभीष्ट सिद्ध गर्न खोज्नु हो । राजनीतिक दलका प्रतिनिधिहरु आयोजक, सहआयोजक रहने गर्दा मेला, महोत्सवको महत्व कम भएको र एक हद्सम्म अनाकर्षक हुँदै गएको देखिन्छ । यस्तो अस्वाभाविक प्रवृत्ति रोक्न स्थानीय तह र जनप्रतिनिधिहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ र साथै उद्योग–वाणिज्य लगायतका सम्बन्धित निकाय लागिपर्नु पर्दछ ।

मेला महोत्सव भनेका एउटो जिल्लामा एउटा मात्र हुने वातावरण बन्नुपर्छ ताकि यसबाट पूरै जिल्ला गौरवान्वित हुन सकोस् । दर्शकले पनि फरक अनुभूति गर्न पाउन् । नगर, गाउँपालिका जस्ता स्थानीय क्षेत्र अनुसार गर्दा केही फाइदा हुदैन । उल्टै समय बर्बाद हुन्छ ।

देश भर नै यस्तो विकृति विस्तारित भएको छ । सम्पूर्ण जिल्लावासीहरु मिलेर प्रत्येक दुई बर्षमा मेला महोत्सव आयोजन गर्दा पक्कै रौनक आउँछ । आवश्यकताले महोत्सव हुन्छन् भने नागरीकले बुझ्छन् नै । रवाफ देखाउनको लागि गर्नु कदापी राम्रो हुदैन । भलै केही समय व्यक्ति तथा संस्थाको नाम मिडियामा आउला । त्यसैले दीर्घकालीन सोचको विकास गर्नु आजको आवश्यकता हो । यस्ता प्रकृतिका कार्यक्रम आयोजना हुनु आफैमा जिल्लाका ऐतिहासिक, धार्मिक , सामाजिक तथा पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन हुने अवसर पनि हो । कतिपय समारोहमा दैनिक हजार माथि आउलान् । तर मानिस मेलामा प्रवेश गरेर बाहिर निस्कदा आकर्षण भन्दा बढी विकर्षणको भाव देखिनु हुँदैन । मेलाले आर्थिक रुपमा सबल त बनाउला तर महोत्सवको परिभाषालाई आच आउँन सक्छ । त्यस्तो हुनुहुँदैन ।

मेला महोत्सव भनेका एउटो जिल्लामा एउटा मात्र हुने वातावरण बन्नुपर्छ ताकि यसबाट पूरै जिल्ला गौरवान्वित हुन सकोस् । दर्शकले पनि फरक अनुभूति गर्न पाउन् । नगर, गाउँपालिकाजस्ता स्थानीय क्षेत्र अनुसार गर्दा केही फाइदा हुदैन । उल्टै समय बर्बाद हुन्छ । महोत्सवमा जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरुको प्रचार–प्रसार, स्थानीय लोकप्रिय खाद्यान्न, परिकार, विशेष पहिचानसहितका आ-आफ्नै विशेषता रहेको जातिहरुले महोत्सवलाई आकर्षक बनाउने वातावरण हुनुपर्छ । मेलामा सबै उमेर समूहका हेर्न जाँदा यो चाहिं महोत्सब हो भन्ने भाव सञ्चार हुन्छ । यसका साथै सबैले केही न केही हातमा लिएर घर फर्किने वातावरण र आकर्षण हुनुपर्छ ।

मेला महोत्सवले जिल्लावासीका साथै देशभरका मानिसलाई जिल्लाको बारेमा परिचित गराउनु प्रमुख पक्ष हो । मेला महोत्सवको ध्येय सबै उमेर समूहका मानिसमा उत्साह उमंग आउन सकोस् भन्ने हुुनुपर्छ । महोत्सव शिक्षाप्रद होस् र यसबाट आनन्द पनि प्राप्त होस् । आयोजना हुनुमात्र ठूलो कुरा होइन, बरु यसले के संदेश दिन्छ, त्यो महत्वपूर्ण हो । अस्वस्थ प्रतिस्पर्धा गरी मेलाको आयोजना गर्ने चलन अन्त्य हुनुपर्छ । यसो गरेमा निश्चय नै मेला महोत्सवको गरिमा पुनस्र्थापित हुन सक्नुका साथै यसबाट समाज पनि लाभान्वित हुन सक्ने छ । तर प्रवृत्ति सच्याइएन भने समयक्रममा मेला महोत्सव असान्दर्भिक हुने सम्भावना पनि त्यतिकै छ ।