आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिका प्रतिस्पर्धा गर्दै

515
views

काठमाण्डौ २३, माघ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा भैरहेको त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बिहीबार ओमान र अमेरिका प्रतिस्पर्धा गर्दैछन् ।

अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यी दुई टिम पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेपछि यी दुई देशबीचको खेल सुरु हुनेछ । लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १२ अङ्क बनाएको छ ।

ओमान सात खेलमा १० अङ्क बनाउँदै दोस्रो स्थानमा छ । यो खेलमा ओमानले अमेरिकालाई हराएमा अङ्क बराबरी गर्ने मौका पाउनेछ ।

बुधबार भएको खेलमा नेपाललाई १८ रनले हराएको ओमानलाई अमेरिकासँगको खेलमा केही सहज महसुस हुनेछ । नेपाल र ओमानको खेल राम्रोसँग नियाल्ने मौका पाएको अमेरिकाले भने ओमानको कमजोरी र बलियो पक्ष राम्रोसँग केलाउने मौका पाएको छ ।

त्यसै अनुरुप अमेरिकाले तयारी पनि गरेको छ । आठ खेलबाट ६ जित हात पारेको अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।