चीनबाट फैलिएको कोरोनालाई उपयुक्त नाम दिन वैज्ञानिकहरुको छलफल

624
views

बेइजिङ, २३, माघ ।  चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करीब ४९० पुगेको छ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब २४ हजार ५ सय ६२ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । भाइरसका कारण चीनमा मात्र नभइ विश्वमा नै त्रास फैलिएको छ  ।

अहिलेसम्म यो भाइरसलाई कोरोना भाइरस भनिएको छ । तर यो भाइरसले उपयुक्त नाम नपाएको बताइएको छ । कोरोना भाइरस भन्नाले योसहित विभिन्न भाइरस अर्थात विषाणुहरू सहितको एक समूहलाई जनाउने नाम हो ।

वैज्ञानिकहरूको एउटा समूहले उक्त भाइरसलाई उपयुक्त नाम दिन छलफल सुरु गरेका छन् । उनीहरूले छिट्टै यो भाइरसलाई नयाँ नाम दिने बताएका छन् । ‘जन हप्किन्स सेन्टर फोर हेल्थ सिक्युरिटी’का वरिष्ठ प्राज्ञ क्रिस्टल वाट्सनका अनुसार, नयाँ भाइरसलाई नामाकरण गर्न समय लाग्छ र अहिलेसम्म जनस्वास्थ्य सम्बन्धी काममा ध्यान थियो ।

तर नामकरण पनि महत्वपूर्ण हुनुमा विभिन्न कारण भएको उनी बताउँछिन्। यो भाइरसको भेद निर्धारण गर्न वैज्ञानिकहरूले यसलाई नोभल अर्थात् नयाँ कोरोनाभाइरस भन्दै आएका हुन्। सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा तिनमा मुकुटजस्ता गुच्छा देखिने भएका भाइरसलाई कोरोनाभाइरस भन्ने गरिन्छ ।

यसअघि सन् २००९ मा फैलिएका एच वन एन वन भाइरसलाई स्वाइन फ्लू भनिएको थियो । उक्त भाइरस सुँगरबाट सरेको भन्दै इजिप्टमा सबै सुँगुर मारियो । तर भाइरस सुँगुरबाट नभएर मानिसले फैलाउने निष्कर्ष निकालिएको थियो ।

केही रोगका नामले निश्चित धार्मिक वा जातीय समुदायलाई अप्ठ्यारो पारेको तथा यात्रा र व्यापार वाणिज्यमा अवरोध सिर्जना गरेको जनाइएको छ ।  यस विषयमा दुई हप्तादेखि छलफल भएको हो । ‘आईसीटीभि’का १० सदस्य अहिले यो भाइरसको नामकरण गर्ने समूहमा छन् ।

उक्त नाम प्रकाशित गर्न एउटा वैज्ञानिक जर्नलमा पठाइँदैछ। केही दिनमै त्यो नाम औचपारिक रूपमा घोषणा हुने बताइएको छ ।