वि.व्य.स.को मनोनित सदस्यमा सिके ईन, गिरी आउट

1630
views

निर्मल पौडेल
पर्वत, २४, माघ । विद्यालय व्यवस्थापन समितिका लागि मनोनित सदस्यमा सहमति विपरित भएको निर्णयले विवाद उत्पन्न भएको छ । कुश्मा नगरपालिकामा रहेको श्री नारायण माध्यमिक विद्यालयमा अभिभावक संघको भेलाको सहमति विपरित मनोनित सदस्यमा प्रल्हाद गिरीलाई हटाउँदै बसन्त बहादुर सिकेलाई मनोनित गरेपछि विवाद उत्पन्न भएको हो ।

२०७६ साल पौष १३ गते भएको व्यवस्थापन समितिको छनौट प्रक्रियाका क्रममा गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति विपरित पूर्व प्रधानाध्यापक सिकेलाई मनोनित गरेपछि विवाद सिर्जना भएको हो ।

पौष १३ गते बसेको अभिभावकहरुको भेलाले वि.व्य.स.गठनका लागि पदेन सदस्यमा वडा नं ४ की अध्यक्ष मिना कर्माचार्य, सदस्यहरुमा सीतादेवी चापागाई गौडेल, सरस्वती शर्मा पोखरेल, कमलनाथ पोखरेल, कृष्ण प्रसाद शर्मा र मनोनित सदस्यमा प्रल्हाद गिरीलाई ल्याउने सहमति गरेको थियो ।

भेलाले सोही विद्यालयका अभिभावक एवं कुश्मा नगरपालिका वडा नं ७ का प्रल्हाद गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति विपरित बसन्त बहादुर सिकेलाई मनोनित गरेको भन्दै पदेन सदस्य मिना कर्माचार्य र कृष्ण प्रसाद शर्माले असहमति गिरी समर्थकले शुक्रबार (आज) पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

श्री नारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्यमा जुनसुकै आएपनि सहमति कार्यान्वय गर्न वा विधि र प्रक्रिया अनुसार सदस्य बन्न उपयुक्त हुने वि.व्य.स.का पूर्व अध्यक्ष रमाकान्त शर्माको सुझाव छ ।

पत्रकार सम्मेलनमा वि.व्य.स. को गठन प्रक्रिया सहमति र नियम संगत नभएको भन्दै प्रकाश श्रेष्ठ र रमेश प्रसाद श्रेष्ठले दिएको निवेदन कुश्मा नगरपालिका नगर शिक्षा शाखाले दराजमा थन्क्याउँदै २०७६ माघ १४ गते मात्रै दर्ता गरेको समेत जनाइएको छ ।

पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षले एकहजार १५ जना विद्यार्थी रहेको विद्यालयमा एकसय ६९ जना अभिभावकको उपस्थितिमा गरेको सहमति समेतलाई वेवास्था गरी प्रक्रिया विपरीत गरेको निर्णय अमान्य भएको भन्दै आम भेलाबाट चुन्न चुनिएर देखाउन चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै योगराज गिरीले शैक्षिक क्षेत्र सुधारका लागि भएको सहमतिलाई लत्याउँदै भएको विधि प्रक्रिया विपरितको निर्णय नैतिक संगत नभएको बताए ।

कुश्मा नगरपालिका नगर शिक्षा शाखा प्रमुख विष्णु प्रसाद तिवारीको अध्यक्षतामा भएको व्यवस्थापन समिति छनौट अभिभावक भेलाको निर्णय विपरित भएको विषयमा नगर शिक्षा शाखा समेत मौन बस्नु षडयन्त्रपूर्ण भएको पत्रकार सम्मेलनमा आपत्ति जनाइएको थियो ।