राधादेवी गुरुङ सोंचकी धनी

679
views

पर्वत । राधादेवी स्मृति प्रतिष्ठान कुश्मा पर्वतले राधादेवी गुरुङको १२ औं स्मृति दिवस एवं दोस्रो साधारण सभा गरेको छ । स्मृति दिवसमा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति एवं प्रखर नेता नवराज गुरुङकी माता स्व. राधादेवी गुरुङको राजनीतिक चर्चा गरिएको थियो ।

बहुदलीय व्यवस्थाका लागि राधादेवी गुरुङ परिवारले पुर्याएको योगदानको चर्चा गर्दै कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले राधादेवी मान, प्रतिष्ठा र पदकी भन्दा पनि सोंचकी धनि भएको बताए ।

वक्ताहरुले गुरुङ समुदाय प्राय लाहुरे हुने, हङकङ र मलाय जाने प्रचलनलाई तोड्दै तात्कलिन विषम परिस्थितिमा राधादेवीले आफ्नो एकमात्र छोरा नवराज गुरुङलाई राजनीतिक यात्रामा होमेर प्रजातान्त्रिक आन्दोलनमा अतुलनिय योगदान पुर्याएको चर्चा गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद ललितकला गुरुङले राधादेवी गुरुङ नवराज गुरुङकी आमा मात्र नभई प्रजातान्त्रिक आन्दोलनकी जननी भएको बताईन् ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले राधादेवी प्रतिष्ठानलाई पार्टीको मात्र नभई साझा प्रतिष्ठानको रुपमा विकास गर्दै गरिव, दीर्घ रोगी, निमुखाको ओत लाग्ने प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उप–प्रमुख सीता काफ्ले लामिछानेले राधादेवी गुरुङले राजनीतिक आन्दोलनमा पुर्याएको योगदान भावी पुस्ताको लागि अविष्मरणीय रहेको बताईन् ।

कार्यक्रममा राधादेवी प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले आफ्नी माताको सोंच असल छोरा, जन्माउनु, असल नागरिक बन्न उत्प्रेरित गर्नु र असल राष्ट्र निर्माणमा बलिदानी गर्ने योद्दा जन्माउनु रहेको बताउँदै कुनै नेता वा कुनै राजनीतिज्ञ र पद प्रतिष्ठामा नरहेकी माताको सोंच समाजका लागि मार्गदर्शन भएको उल्लेख गरे ।

राधादेवी प्रतिष्ठानका जेष्ठ सदस्य डण्डपाणी शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सत्तारुढ नेकपाका जिल्ला सदस्य परशुराम सुवेदी, नेपाली काँग्रेस महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य बसन्त बहादुर सिके, वडा नं ५ की अध्यक्ष चित्रकला भारती, नेपाली काँग्रेस जिल्ला समितिका सदस्य अशोक उचै ठकुरी, नेका महाशिला गाउँपालिका अध्यक्षका उपविजेता उम्मेदवार उज्जवल गुरुङ, रेडक्रस प्रतिनीधि हेम शर्मा, नागरिक संघ पर्वतका अध्यक्ष लोकराज आचार्य, शिक्षक संघ पर्वतका अध्यक्ष गोविन्द पोख्रेल लगायतले बोलेका थिए ।

कार्यक्रममा मोदी गाउँपालिका वडा नं ४, साविक क्याङ गाविस–९ की दुवै मृर्गौला पीडित कुसुम पुनलाई नवदृष्टि डटकम मार्फत दुईहजार रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै विभिन्न विद्यालयका दर्जनौं जेहेन्दार विद्यार्थीहरुलाई सम्मान र सहयोग प्रदान गरिएको थियो ।