सिन्धुपाल्चोकमा प्रहरी चौकीमा अज्ञातसमुहद्धारा आक्रमण, दुईजना प्रहरी घाइते

865
views

सिन्धुपाल्चोक, २५, माघ । पाँचपोखरी थाङपालधाप गाउँपालिका–८ सिन्धुपाल्चोक तिपेनीको प्रहरी चौकिमा शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणमा परी प्रहरी चौकीका ईन्चार्जसहित दुई जना प्रहरी घाइते भएका छन् । राति करिब १ बजे १० वटाभन्दा धेरै मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उक्त समूहले प्रहरी चौकीमा ढुंगामुडा गरेको प्रहरीले बताएको छ। आक्रमणबाट चौकीका इञ्चार्ज असइ सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् ।प्रहरीले आक्रमण रोक्न पाँच राउण्ड हवाई फायर गरेको बताइएको छ । असइ झालाई उपचारकाा लागि काठमाडौं लगिएको छ । हवल्दार मगरको मेलम्चीमा उपचार भइरहेको छ। आक्रमणमा संलग्नमध्ये एकजना र दुईवटा मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमाको टोली तिपेनी पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जन पनि राति नै घटनास्थलमा पुगेका थिए । प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ ।