बैतडीको तल्लोस्वराड क्षेत्रमा विद्युत राष्ट्रिय प्रसारणलाइन विस्तार गरिँदै

1063
views

बैतडी २६, माघ । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत राष्ट्रिय प्रसारणलाइन विस्तारको काम थालिएको छ । बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युतको राष्ट्रिय प्रसारण पुर्‍याउनका लागि काम शुरु भईसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

सो क्षेत्रमा विद्युतको पहुँच पुर्याउनका लागि पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भईसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख सतीशकुमार कर्णले जानकारी दिए ।

उनले भने, ुपाटनमा र मेलौलीमा सवस्टेशन निर्माणका लागि आर.के.इन्टरनेश्नल प्रालिसंग गत जेठमा ठेक्का सम्झौता भएर काम शुरु भईसकेको छ । पाटनमा सवस्टेशन निर्माणका लागि साढे ११ करोड र मेलौलीमा सवस्टेशन निर्माणका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको हो, उनले भने, गत जेठ ७ गते सवस्टेशन निर्माणको काम एक बर्षभित्र गरिसक्ने लक्ष्य सहित सम्झौता भएको हो ।

यस्तै, पाटनदेखि मेलौलीसम्म प्रसारणलाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसंग सम्झौता भएको जनाएको छ । लाइन विस्तारको काम पनि एक बर्षभित्र सक्ने गरेर गत जेठमा सम्झौता भएको होे । सो सम्झौता अनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि शुरु भईसकेको प्रमुख कर्णको भनाई छ। लाइन विस्तारका लागि २ करोड १४ लाखमा ठेक्का सम्झौता भएको उनले बताए ।

जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युतको राष्ट्रिय प्रशारणमा पहुँच पुर्‍याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो । यस्तै नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो बर्ष विद्युत पहुँच विस्तार गर्नेगरी काम गरिरहेको प्राधिकरण बैतडीका सुपरभाईजर माधवप्रसाद लेखकले जानकारी दिए।