आपको दुईतिहाई बहुमत

913
views

नयाँ दिल्ली (एजेन्सी) । सत्ताधारी दल आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा लगातार तेस्रो पटक सरकार बनाउने भएको छ । मंगलबार सार्वजनिक मतपरिणाममा स्पष्ट दुईतिहाई सिट आएपछि आपले लगातार तेस्रो पटक सरकार बनाउने भएको हो ।

विधानसभामा चुनावी नतिजा सार्वजनिक भएका ६८ सिटमध्ये आपले ६२ सिटमा विजयी हासिल गरेको छ। यस्तै, भारतीय जनता पार्टी (भाजपा)ले ८ सिटमा जित निकालेको छ । दिल्ली विधानसभामा ७० सिट छन् ।

नयाँ दिल्ली सिटमा आप संयोजक एवं दिल्लीका मुख्यमन्त्री केजरीवाल भारी मतले विजयी भएका छन्। उनले भाजपाका सुनीलकुमार यादवलाई २१ हजार ६ सय ९७ मतअन्तरले पराजित गरे। केजरीवालले ४६ हजार सात सय ५८ मत पाउँदा यादवले २५ हजार ६१ मत ल्याए ।

चुनावमा आपले लगातार दोस्रो पटक दुईतिहाई बहुमत पाएको छ। दिल्ली विधानसभामा दुईतिहाई बहुमतका लागि ४७ सिट आवश्यक पर्छ ।

मतगणनाको प्रारम्भिक नतिजाकै क्रममा अग्रता देखिएपछि आपका राष्ट्रिय संयोजक तथा मुख्यमन्त्री अरविन्द केजरीवालले आइटिओस्थित पार्टी मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले आफ्नो पार्टीलाई बहुमत दिएकोमा दिल्लीका मतदातालाई ‘आई लभ यु’ भनेका छन् ।