सिन्धुपाल्चोकमा कोरोनाको आशंका

१०० बढी बिरामी, आवश्यक सहयोग गर्न गाउँपालिकाको आग्रह

651
views

काठमाडौँ, २९, माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेपछि कोरोनाको त्रास फैलिएको छ । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए।

माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए । एकै गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको छ भने (कोरोनाको संक्रमण) हो कि होइन भनेर पहिचान गर्न समेत आग्रह गरिएको छ ।

संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए । उनले भने, ’केन्द्रमा पनि सम्पर्क गरेका छौं । चीनबाट मान्छे आउने जाने नभएको भएपछि चेक गरिहाल्नु पर्दैन भन्नुभयो । भाइरल सबैतिर छ आत्तिइहाल्नु पर्दैन भन्ने कुरा छ उहाँहरूको ।’