नेपाल ट्रष्टको जग्गा कसरी पुग्यो भन्दै जवाफ माग

600
views

काठमाडौं, माघ २९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले बुधबारको प्रतिनिधिसभा बैठकमा नीतिगत भ्रष्टाचार गरी सरकारले यती होल्डिङ्स कम्पनीलाई नेपाल ट्रष्टको जग्गा दिएको भन्दै संसदमा जवाफ दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

मुलुकमा यती आतंक मच्चाइएको र यो लज्जाको विषय भएको भन्दै सांसद पन्तले भनिन् ‘यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु सरकारको नीतिगत भ्रष्टाचार हो ।’

सरकारले गोकर्ण, ताहचल, दरबारमार्गको दुई हजार सात सय ९९ रोपनी जग्गा यतिलाई दिएको छ । जसले राज्यलाई ५ अरब नोक्सानी भएको भन्दै उनले प्रश्न गरिन् ‘पाथीभराको जग्गा सित्तैमा यतीलाई किन दिइयो ? ‘शिवपुरीको जग्गा वार्षिक ४० हजारमा किन दिइयो ? यतीसँग सती जानु सरकार के कारणले हो ? एउटा ब्यापारीक समूहलाई राज्यको सम्पत्तिको जिम्मा लगाउनु के कारणले हो, प्रधानमन्त्रीको जवाफ चाहन्छु ।’

ललितानिवास जग्गा प्रकरणमा सरकारले आफ्ना मान्छेलाई उन्मुक्ति दिएको आरोप लगाउँदै उनले फरक विचारकालाई जेल पठाउन खोजिएको र त्यसैको विरोधमा प्रतिपक्ष दलले आन्दोलन गरेको बताइन् ।