धर्म, सत्ता र धन

394
views

-रोशन जनकपुरी
मार्क्सवादका प्रवर्तक कार्लमार्क्सले धर्मलाई अफीम भनेका थिए । हुन त उनले धर्मलाई मानिसको पीडाको निकासको माध्यमपनि भनेका थिए । उनको शब्दमा ‘धर्म अखिल ब्रह्माण्डमा कुप्रो परेर खुम्चिएर बसेको मानिसको हृदयको आह (चित्कार) हो, यो मानिसको निम्ती अफीम हो’ । अर्थात धार्मिक चेतनाले अरु केही गरे–नगरेपनि यसले मानिसभित्रको दुःख, निराशा, कुण्ठा र असफलताहरु कुनै अलौकिकको जिम्मा लगाएर केही बेर निश्चिन्त हुने मनोवैज्ञानिक स्थिति सृजना गर्छ । तपाँईले मन्दिर, मस्जिद, गुरुद्वारा, गिरिजाघर आदि देवस्थलमा गएर पूजा, अर्चना, भाकल, मनौती गरेको दृश्य हेर्नु भयो होला । कुनै किर्तनमा आँखा चिम्म चिम्लेर भावविह्वल भएर बेसुध जस्तै झ्याली बजाउँदै, नाच्दै किर्तन–भजन गाईरहेको हेर्नु भएको होला—‘मेरे तो गिरधर गोपाल, दुसरो न कोय’ । के हो यो ? सांसारिक जटिलतामा चौतर्फी समस्याको घेरामा परेकोे मानिसहरुले आफ्ना पीडाहरु र जटिलताहरु कुनै अलौकिक अथवा आफूभित्रै कल्पित कुनै अस्तित्वको जिम्मा लगाएर केहीबेर हलुङ्गो हुनु त हो ! अफीमलेपनि यही गर्छ । यसलाई प्रयोग गरेपछि मानिसको मनमाथी एकखालको नशा व्याप्त हुन्छ र मानिसले आफ्ना सबै जटिलताबाट केहीबेर मुक्त भएको महसूस गर्छ ।

धर्म होस अथवा अफीम, दुबैको प्रयोगले एकखालको आनन्ददायक तन्द्रामात्र सिर्जना गर्छ । भौतिक स्थितिमा कुनै तात्विक सकारात्मक परिवर्तन आएको हुँदैन । बरु सचेतताको अभावमा स्थितिको जटिलता झन् बढदैगएको हुन्छ । अफीमको लत्ले एउटा असामाजिक व्यापारको अवसर सिर्जना गर्छ । त्यसतै धर्मप्रतिको अज्ञान आसक्तिले व्यापक मानव समुदाय माथि केही चतुर मानिसहरुलाई देवत्व धारण गर्न र शोषण तथा शासनलाई औचित्य सिद्ध गर्ने मौका दिन्छ । यस अर्थमा हेर्ने हो भने धर्म अफीमभन्दापनि खतरनाक छ । अफिमको मात त केहीबेरमा हराउँछ । धर्मको मात संसारभरिका व्यापक मानवसमुदायलाई स्थायी मातमा डुबाउँछ । यो मात यति खतरनाक छ, कि मानिसहरु खुशी–खुशी ठगिन्छन् र आफूलाई ठग्नेको गुणगान गर्छन् । के कुनै सचेत मानिसले यस्तो गर्न सक्छ ? यस्तो त कुनै मात्तिएको अथवा अचेतले मात्र गर्नसक्छ । मानवीय जीवनका स्वाभाविक आकस्मिकताहरुको अलौकिक अस्तित्वको रुपमा व्याख्या, भौतिक मञ्चमा बसेर, भौतिक माइकमा, भौतिक ध्वनिको माध्यमबाट नदेखिनेलाई सत्य र देखिनेलाई असत्य अर्थात ‘ब्रह्म सत्यं, जगत मिथ्या’को चतुर व्याख्या गर्ने धर्मा्धिकारी र प्रवचकहरुलाई पत्याउनुलाई अचेतपन अथवा मातपन बाहेक अरु के भन्नसकिन्छ । तर यस्तै भैरहेको छ । हजारौँवर्ष देखि धर्मानुकूलित समुदाय यस मातबाट यसरी ग्रसित छन्, कि यसबाट निकाल्ने अनेकौँ प्रयासहरु सफल हुनसकिरहेका छैनन् । बरु यस्ता प्रयास गर्नेहरुलाई नै असमाजिक र अज्ञानी भनिन्छ ।

यस मानवीय कमजोरीलाई सत्ताले राम्ररी बुझेको छ, शुरुदेखि नै । कौटिल्यको अर्थशास्त्र यस्को श्रेष्ठ उदाहरण हो । यसमा भनिएअनुसार राजाहरु आफू यस अलौकिक धार्मिक चेतनाबाट मुक्त रहनुपर्छ, तर जनतामा यस अलौकिकताप्रति विश्वास हमेशा कायम राख्न उद्यमशील हुनूपर्छ । यस खातिर देवस्थल निर्माण, पूजापाठ र धर्मा्धिकारी, प्रवचक आदिको सम्मान गरिराख्नु पर्छ । यिनै धारणा तथा धर्मा्धिकारीहरुले राजा र राज्यव्यवस्थालाई देवप्रदत्त र धर्मानुकूल साबित गर्छन् । कौटिल्य मात्र होइन, उनिभन्दा पहिलेका वशिष्ठ, याज्ञवल्कय, शुक्राचार्य र गौतम आदि आचार्यहरुले समेत धर्मलाई यसै यथार्थवादी व्याख्यामा निबद्ध गरेका छन् । यस जीवनभन्दा पर अर्को जीवन छ, जो मृत्यूपछि प्राप्त हुन्छ । त्यसलाई सुखमय बनाउन तपाँई राजा र दैवको धर्मानुकूल गठबन्धनको रक्षार्थ निर्माण गरिएको धर्माचरणलाई पालन गर्नैपर्छ । त्यो चाहे जतिसुकै अनौचित्य होस । ….

राजा र दैवका यी छली धारणाहरु मानवीय चित्तमा युगौँयुगदेखि यसरी बसालियो र आवश्यक परे बलजफ्ती मान्न विवश पारियो कि मानिस अन्तरबाटै धर्मानुकूलित भए । राजा वा शासक फेरिएर जो सुकै आएपनि सत्ताशीर्षमा बस्नेहरु देवभए, श्रेष्ठभए, भाग्यविधाता भए ।…..

युग बित्यो, राज्यका ढाँचाहरु फेरिए, मानिसका ज्ञान र चेतनाहरुमा समयानुकूल परिवर्तनपनि भयो । आधुनिक चेतना तथा विज्ञानले पुरातन धार्मिक तथा अन्धविश्वासी चेतनासंग संघर्षपनि ग¥यो । श्रृष्टि, प्रकृति, देश र कालसम्बन्धी विज्ञानका नयाँ तथ्य र सत्यहरु स्थापित भए । तर हजारौँवर्ष देखिको अनुकूलित धार्मिक चेतना यथावत रह्यो ।

वैज्ञानिक सत्यको कसीमा औचित्यहीन भैसकेरपनि यो किन जीवित र शक्तिशाली छ ? धर्मको प्रतिपक्षीहरुको सामान्य धारणामा धर्म जड चिन्तन हो । तर त्यसो होइन । वस्तुतः राज्यको आवश्यकतानुकूल जन्मेको धर्म राज्यको ढाँचा र चरित्र अनुकूलनै धर्म्चिन्तनको प्रक्रियापनि परिवर्तित हुँदैगएको छ । यद्यपि यसका अनुयायीहरुले सनातन भनेर यसलाई वैदिक र पौराणिककालका नै सिद्ध गर्न खोज्छन् । वैदिक परम्परामा अलौकिकता पाइँदैन । अग्नि, वायू, जल, पृथ्वी, आदि प्रकृति तथा बलशाली नायकहरु देवता थिए । पौराणिकालमा अलौकिक ब्रह्म प्रधान भयो । महाकाव्यकालमा बलशाली राजाहरु राम, कृष्ण आदि ब्रम्ह तथा पौराणिक देवताहरुका अवतारको रुपमा सर्वशक्तिमान र सर्वव्यापकको रुपमा स्थापित भए । धर्माचरणपनि समयसंगै बदलियो । कुनैबेला धर्म सुचिता र कर्मकाण्डको विषय थियो भने कुनैबेला यो तत्वज्ञानको खोजी र दार्श्निक विमर्शमा परिणत भयो । कुनै बेला धर्म भनेको सत्य बोल्नु, सद् आचरण थियो भने कुनै बेला निराकारी अथवा साकारी देउता–देवीको पूजापाठ, व्रत, दक्षिणा, चढौनामा परिणत भयो । तात्पर्य के भने समयसंगै राज्यसत्तामा आएको परिवर्तन अनुकूल यसका मिमांसाकार र व्याख्याकारहरु तथा व्यवहारहरुपनि फेरिँदैगए । फेरिएनभने सत्तासंग यसको सहकार्य र जनसमुदायको परनिर्भर चिन्तन् ।

अहिलेको पूँजीवादी लोकतान्त्रिक प्रतिस्पर्धामा जस्ले जति धन र धर्म जम्मा पार्न सक्यो, उसले त्यतिनै सत्ता आफ्नो पोल्टामा पार्नसक्छ स र जस्ले जति सत्तामा कब्जा गर्छ, त्यतिनै बढी धन कब्जा गर्नसक्छ ।

समयसंगै सत्ता र धर्मको यस सहयात्रामा धनपनि उपस्थित रहँदै आएको हो । बरु भनौँ सत्ता होस अथवा धर्म, धनको जन्मपछि सबैको मूलमा धनोपार्जन नै बसेको हो । कौटिल्यले मोक्षका तीन साधन भनेका छन् — धन, धर्म र काम (काम सामान्य अर्थमा मानवीय इच्छा हो, तर विशिष्टरुपमा यो सत्ताको प्रतीकपनि हो) । तर यी तीनमध्ये धनलाई नै उनले प्रमुख भनेका छन् । धन छ भने धर्म र काम दुबै प्राप्त हुन्छ । यही सत्य मार्क्सलेपनि भने – मानिसको सम्पूर्ण इतिहास वर्गसंघर्षको इतिहास हो । वर्गसंघर्ष अर्थात उत्पादन र उत्पादनको साधनमाथी स्वामित्वको निम्ती वर्गहरुबीच संघर्षको इतिहास । यी दुई महान चिन्तक बीचको भिन्नता के छ भने एउटाको सत्यले निरङकुश शासनको हितमा जनसमुदाय बीच अन्धविश्वासी अलौकिक भ्रम कायम राख्न चाहन्छ भने अर्कोको सत्यले विशाल शोषित–उत्पीडित मानवीय विश्वको हितमा अन्धविश्वासी अलौकिकताको भ्रम ध्वस्त गर्न चाहन्छ । सत्य भने उही हो उत्पादन अर्थात धन्, र यसमाथीको स्वामित्वको निम्ती संघर्ष । तर धन, धर्म र सत्ताको यो गठबन्धन कति जब्बर छ भने यसले यसका विरुद्धका प्रयासहरुलाई पटक–पटक छल्दै गएको छ । अव त सत्ताको निम्ती धन र धर्म बलियो हतियारमा परिणत भएको छ ।

आमजनसमुदायको मनमा बसेको यस अफीमी आसक्तिपूर्ण कमजोरीलाई अहिलेका चतुर राजनीतिज्ञहरुले बुझेका छन् । अहिलेको पूँजीवादी लोकतान्त्रिक प्रतिस्पर्धामा जस्ले जति धन र धर्म जम्मा पार्न सक्यो, उसले त्यतिनै सत्ता आफ्नो पोल्टामा पार्नसक्छ र जस्ले जति सत्तामा कब्जा गर्छ, त्यतिनै बढी धन कब्जा गर्नसक्छ । यो धन, धर्म र सत्ता (काम)को त्रिकोणात्मक गठबन्धन नै वर्तमानको शासकीय सत्य हो । शोषित र उत्पीडितहरुको सत्य शासकीय सत्यको विपरीत हो । तर यो शोषित र उत्पीडित सामू उपस्थित भोक र अभावको विवशता हो कि ऊ खुलेर शासकीय सत्यको विरुद्ध पूर्णतः उभिन सकेको छैन ।

अहिले त उसको स्थिति कति दयनीय छ कि उसकै नाममा पुरानोसत्तालाई धपाएका उसका अगुआहरु पुरानैखाले धन, धर्म र सत्ताको गठबन्धनका हिस्सा भएका छन् । धर्मभीडू जनसमुदायको मानसिक कमजोरीको फाइदा उठाएर उनिहरुपनि लोकप्रिय हुने दाउमा छन् । अहिले तपाँई अधिकांश नेताहरुलाई कुनै न कुनै देवस्थल, धार्मिकमेला, जात्रा आदि कथित धार्मिक समारोहको उद्घाटन, शिलान्यास अथवा प्रमुख आतिथ्य गरिरहेको देख्नसक्नु हुनेछ । वास्तवमा उनिहरुलाई के लाग्छ भने जति धार्मिक कार्यक्रममा भागलिने हो, त्यति जनताले भोट दिन्छन्, लोकप्रिय हुने हो । अरु त अरु, आफूलाई मार्क्सवादी भन्नेहरु जो सैद्धान्तिकरुपमा अनिश्वरवादी छन्, सत्ताको संगतमा परेर उनिहरुपनि यसभ्रमका शिकार भएका छन् । गएको हप्ता सरकारी नेकपाका अध्यक्ष प्रचण्ड र राष्ट्रिय जनतापार्टीका संयोजकमण्डल मध्येका महन्थ ठाकुर फरक फरक ठाउँमा महाबीरी झण्डामेलाको उद्घाटनमा प्रमुख अतिथिको रुपमा सामेल भए । प्रदेशनम्बर दुईका मूख्यमन्त्री मोहम्मद लालबाबू राउत त वर्षैभरि जनकपुरको जानकीमन्दिरमा होस अथवा अन्य कतै मन्दिर, मस्जिदमा यसप्रकारका कार्यक्रममा सरिक भइनै रहन्छन् । भर्खरै सखरा भगवतीको मन्दिरमर्मतको निम्ती इँटा हातमा लिएको उनको तस्वीर मिडियामा देखिएको थियो । सामाजिकरुपमा तथा मानविय समुदायको मानसिकतामा गहिरिएर बसेको पुरातन धार्मिक चेतनासंग तुलना गर्दा यी कार्यहरु सामान्य नै हुन । तर वर्तमान सामाजिक अग्रगामी चेतना तथा सामाजिक आवश्यकतासंग तुलना गरेपछि यसको निरर्थकता अनुभूत हुन्छ । जति पैसा मन्दिर बनाउन खर्च गरिन्छ, त्यतिकै विद्यालय खोल्न, अस्पताल खोल्न, अनाथालय खोल्न, वृद्धाश्रम खोल्न, अथवा यसप्रकारका जनहितका संस्थाहरुको सबलीकरणमा खर्च गरेको भए देशका वास्तविक समस्या समाधानमा बढी मद्दत हुनेथियो । यस दिशामा न त कुनै राजनेताले सोच्छ, न त कुनै बौद्धिक समुदायले नै, र धर्मभीडू जनसमुदायले सोच्ने कुरै भएन । हाम्रा विशाल मन्दिरहरुका अगाडी अनेकौँ घरबारविहीन मानिसहरु सुतेका हुन्छन्, तर मन्दिरहरुमा सयौँ (कहीँ कहीँ त हजारौँपनि) मानिसहरु अटाउने ठाउँ र कोठाहरु त्यसै हुन्छन् । तर हाम्रा मृत आस्थागत चेतनाहरुले यी निराश्रयीहरुलाई उपेक्षा गर्दै मन्दिरका कोठाहरुलाई रित्ता राख्नुलाई उचित ठान्छ । कुन ठिक हो ? भोका मानिसहरु र मन्दिरका मूर्तिहरुमा पक्वान्न र मिष्टान्न चढाउनु ? नाङ्गा मानिसहरु जाडोमा लगलग काम्नु र मन्दिरका मुर्तिहरु सिरकले ढाकिनु ? के ती राजनेताहरु जो लोकप्रियताको लोभमा र जनइच्छाको सम्मानको निहुँमा यस प्रकारका आयोजनमा प्रमुखअतिथिको रुपमा सामेल हुन्छन्, सत्यबोध गराउन सक्छन् ?

शोषित उत्पीडितको हितको निम्ती सत्यको बोध आवश्यक छ र यसको निम्ती चिन्तनको दिशा बदल्न जरुरी छ । तर यसमा एउटा खतरा छ — सत्ता र धर्मको गठबन्धनले युगौँदेखिको धनलाभको व्यापार बन्द हुनसक्छ । निश्चय नै जनसमुदायको आस्थाको सम्मान जरुरी छ, गर्नु पर्छ । तर नेता भनेको व्यवहार र चिन्तन दुबैस्तरमा अगुआ हो । यस दृष्टिले जनआस्थाको सम्मान गर्दै जनसमुदायलाई सत्यसंग परिचित गराउने दायित्वपनि उसैको हो । वास्तविक अर्थमा जनताको हित चाहने हो भने अगुआ अथवा नेताहरुले यो साहस गर्नै पर्छ । सत्य जो उत्पादन र उत्पादनका साधनहरुमाथी उत्पादकवर्ग अर्थात मेहनतगर्ने वर्गको स्वामित्वको पक्षमा खडा हुन्छ । फेरी मैलै अगुआ र नेता भनेको राजनीतिक अर्थमा मात्र होइन, यस्को अर्थ सामाजिक अगुवाहरु अर्थात् बौद्धिकवर्ग र सामाजिक नेता र कार्यकर्ता समेत सचेत समुदायलाई पनि भनेको हो । तर जनसमुदाय सचेत र अलौकिक भ्रमबाट मुक्त नहुँदासम्म सत्ता र धर्मको यो भ्रमपूर्ण खेल जारी नै रहने छ ।