आज पच्चिसौं जनयुद्ध दिवस, क्रान्तिकारी ध्रुविकरणको आवश्यकता

1790
views

पर्वत, १, फाल्गुन । आज जनयुद्धको पच्चिसौं दिवसको अवसरमा क्रान्तिकारी शक्तिले हर्सोल्लासका साथ जनयुद्व दिवस मनाउदै छन् । छरिएर रहेका क्रान्तिकारी शक्तिहरुसमेत जनयुद्व दिवसमा शुभकामना आदान प्रदन गरी कार्यक्रम गर्न थालेका छन ।

यसैबीच नेकपा (क्रान्तिकारी माओवादी) ले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समुहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलबन्द भई अगाडि बढ्न सार्वजनिक आव्हान गरेको छ । दशवर्षसम्म सञ्चालित जनयुद्धका एक पहलकर्ता समेत रहेका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आज एक वक्तव्य जारी गरी यस्तो आव्हान गर्नुभएको हो ।

वक्तव्यमा भनिएको छ, “सामाजिक क्रान्तिको प्रक्रिया सिधा हुँदैन, क्रान्ति र प्रतिक्रान्तिका अनेकौं चक्रहरु पार गर्दै अगाडि बढ्छ । नेपाली नयाँ जनवादी क्रान्तिले धक्का अवश्य खाएको छ तर क्रान्तिको प्रक्रिया समाप्त भएको छैन । हाम्रो पार्टीले नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागुगर्दे नेपाली नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ । महान जनयुद्धको पच्चिसौं वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न आह्वान गर्दछ ।”

जनयुद्ध, जनआन्दोलन, जनसंघर्षका अनुभवहरुको जगमा टेकेर नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने कार्य्दिशा अँगाल्दै आएको क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसरमा जारी वक्तव्यमा अगाडि भनिएको छ, “नेपाली जनतामाथि शोषण तथा उत्पीडन गर्दै आएको सामन्तवाद एवम् दलाल तथा नोकरशाही पुँजीवाद र नेपालमा विभिन्न प्रकारका हस्तक्षेप तथा प्रभुत्व कायम गर्दै आएको साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नका लागि आजको ठीक चौविस वर्षअघि उद्घोष गरिएको महान जनयुद्ध छोटै अवधिमा देशका विभिन्न भागहरुमा आधार इलाका तथा जनसरकारहरुको गठन गर्दै सशक्त रुपमा विकसित भएको थियो । त्यसले नेपालमात्र होइन विश्वमा पनि क्रान्ति र रुपान्तरणको नयाँ सन्देश प्रवाहित गरेको थियो । परन्तु माओवादी आन्दोलन भित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गंभीर धक्का खान पुगेको छ । दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ।”