मदिरापानको भिडियोबारे सचिवालयको स्पष्टिकरण

1572
views

पोखरा, ५, फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रक्सी पिइरहेको भिडियो र फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि उनको निजी सचिवालयले स्पष्टिकरण दिएको छ ।

निजी सचिवालयका डिल्लीराम सिग्देलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ‘माननीय मुख्यमन्त्रीज्यूको जन्मदिनमा पारिवारिक जमघट’ भएको जनाएका छन् ।

‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्मदिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो । सो क्रममा खिचिएका भिडियो र फोटोहरूलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ ।’

साथै, विज्ञप्तिमा लेखिएको छ, ‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादाविपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिए जस्तो त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं । यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं ।’