अफगानिस्तानको राष्ट्रपतिमा घानी निर्वाचित

1150
views

एजेन्सी । अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मङगलबार (१८ फेब्रुअरी) घोषणा गरेको छ । आयोगले राष्ट्रपति मोहम्मद अशरफ घानीलाई दोस्रो कार्यकालमा पदमा रहन विजयी भएको घोषणा गरेको छ ।

‘मोहम्मद अशरफ घानीले राष्ट्रपति चुनावमा ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ त्यसैले स्वतन्त्र निर्वाचन आयोगले उहाँलाई अफगानिस्तानको निर्वाचित राष्ट्रपतिको रूपमा घोषणा गर्दछ ।’ अफगानी निर्वाचन आयोगका प्रमुख हवा आलम नुरिस्तानीले भनेका छन् ।

घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बनेका आयोगलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

सन् २००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो भने एक दर्जन भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रपति चुनावको प्रारम्भिक नतिजा डिसेम्बरमा घोषणा गरिएको थियो जसमा घानी पहिलो स्थानमा थिए र उनका प्रतिद्वन्द्वी अब्दुल्ला दौडमा दोस्रो स्थानमा नै रहेका थिए । मतदानका लागि ९४ लाख मतदाता योग्य मानिए पनि मतदानमा १९ लाखको सहभागिता रहेको थियो । अधिकांश ग्रामीण इलाका र तालिवान विद्रोही नियन्त्रित सहरहरूमा पनि निकै थोरै मतदाताले भोट हालेका थिए ।