डढुवा र हिउँदे वर्षाले आलु उत्पादनमा गिरावट

716
views

कञ्चनपुर ११,  फागुन  ।  कञ्चनपुरमा आलुको उत्पादनमा यो वर्ष ३० प्रतिशतले गिरावट आएको छ।

हिउँदे झरी र डढुवा रोगको संक्रमणका कारण आलुको उत्पादनमा गिरावट आएको हो। व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन्।

आलुका दाना लाग्ने बेलादेखि नै आलुका बोटहरू मरेपछि आलुको उत्पादनमा कमी आएको कृषकले बताएका छन्। व्यावसायिक रूपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका(३ पिपलाडीका किसान लक्ष्मण चौधरीले १० कठ्ठा जग्गामा मुस्किलले एक बोरी मात्रै आलु उत्पादन भएको बताए।

आलुका दाना लाग्ने क्रममै लगातार वर्षा भएपछि बोटहरू मर्न थालेका थिए, उनले भने, ‘वर्षा हटेपछि डढुवा लागेकाले सबै आलु बालीमै नोक्सनी भयो।’ दश कठ्ठा जग्गामा आलु खेतीका लागि रोपिएको बीउसमेत उत्पादन नभएको उनले बताए। बीउ मात्रै पाँच बोरी रोपिएकोमा त्यो पनि उत्पादन भएको छैन, उनले भने, ‘गत वर्ष मात्रै ३० क्विन्टल आलु उत्पादन भएको थियो।

यस वर्ष एक बोरी पनि आलु उत्पादन भएको छैन।’ मल, किटनाशक र सिँचाइको खर्चसमेत उठाउन नसकिएको उनको भनाइ छ। अर्का किसान सीताराम चौधरीले बारीमा रोपेको आलु पूरै नोक्सान भएपछि घरकै तरकारीका लागि आलु भारतबाट खरिद गर्नुपर्ने अवस्था आएको बताए।

बेलौरीको सिंहपुरका किसान रामआश्रय रानाले समेत खेतमा लगाएको आलुका बोट नै मरेपछि आलुको उत्पादन लिन नसकेको बताए। ‘आलुका बोटमा दाना नै नलागेपछि खन्नका लागि खेतमै गएको छैन’ उनले भने। आलुको उत्पादनमा ह्रास आएपछि बजारमा आलुको मूल्यमा बढोत्तरी भएको छ।

तरकारी व्यवसायीहरूका अनुसार स्थानीय किसानले उत्पादन गर्ने आलु बजारमा थोरै मात्रै आएपछि भारतीय आलुमा निर्भर रहनु परेको छ।