अध्यात्मलाई नछोड्दा कम्युनिष्ट आन्दोलन नै विकृत

सांस्कृतिक रूपान्तरणमा जोड

1048
views

पोखरा, ११, फागुन । इच्छुक सांस्कृतिक प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम पोखराको संयुक्त आयोजनामा सांस्कृतिक रूपान्तरण सम्वन्धी वृहद् अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । पोखराको लेकसाइड स्थित विजय ढकाल स्मृति पार्कको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरूले नेपालको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक क्रान्ति एक साथ नचलाउँदा कम्युनिष्ट आन्दोलनले गति लिन नसकेको र त्यसले सर्वहारा वर्गीय चरित्र गुमाएको निष्कर्ष निकाले । कम्युनिष्टहरू भौतिकवादी हुनु पर्नेमा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेताहरूले अध्यात्मवादलाई त्याग्न नसक्दा कम्युनिष्ट आन्दोलन नै विकृत बन्न पुगेको बक्ताहरूको ठहर थियो ।

‘सांस्कृतिक रूपान्तरण’ विषयक बृहद् अन्तरक्रिा कार्यक्रममा सात जना बक्ताहरूले छुट्टाछुट्टै विषयमा आआफ्ना धारणाहरू प्रस्तुत गरेका थिए । जसअनुसार ‘संस्कार र चाडपर्व’मा डा.कृष्णराज अधिकारी, ‘शब्द र कर्म’मा रोशन जनकपुरी, ‘धर्म र संस्कृति’विषयमा आहुती, ‘पठन र लेखन संस्कृति’मा डा.अमर गिरी, ‘विश्वास र विचारधारा’विषयमा प्रा.डा.ताराकान्त पाण्ड्ेय र ‘लैङ्गिक विभेद र संस्कृति’ विषयमा बन्दना ढकालले आ-आफ्ना विचार प्रस्तुत गरेका थिए । प्रमुख बक्ताका रूपमा माक्र्सवादी सौन्दर्य चिन्तक, सांस्कृतिक आन्दोलनका अभियन्ता निनु चापागाइँले समग्र विषयको सारसङ्क्षेपमा सांस्कृतिक रूपान्तरणको आन्दोलनमा कम्युनिष्टहरूले खेलनुपर्ने भूमिकाका विषयमा विचार व्यक्त गरेका थिए ।

सांस्कृतिक रूपान्तरण सम्बन्धी बहसमा प्रमुख बक्ताका रूपमा आफ्ना विचार प्रस्तुत गर्दै निनु चापागाइँले भने ‘नेपालका कम्युनिष्ट आन्दोलनका नेता कार्यकर्ताहरू सांस्कृतिक रूपबाट रूपान्तरण हुन नसक्नु भनेको वर्गप्रति इमान्दार, प्रतिवद्ध र भौतिकवादी हुन नसक्नु हो ।’ उनले अहिलेको सत्तासिन कम्युनिष्ट पार्टी र सरकारप्रति लक्षित गर्दै अगाडि भने ‘यो व्यवस्था र संस्कृति मुलतः प्रतिक्रियावादी नै हो ।’ सो अवसरमा बोल्दै चापागाइँले सांस्कृतिक रूपान्तरणका ठूला बाधक भनेका सत्तासिन शासकहरू भएको बताए । उनले धर्म र संस्कृति अलग कुरा भएको बताउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा लागेका अभियन्ताहरूले धर्म र संस्कृतिलाई एकैठाउँमा घालमेल पार्दा तलतल समस्या पैदा भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो विषयमा धारणाहरू राख्दै प्रा.डा. ताराकान्त पाण्ड्ेयले कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रूपान्तरणको समस्या बारे बताउँदै विश्वासको सङ्कटले नै विचारधारामा समस्या पैदा गरेको औँल्याए । उनले अगाडि भने ‘विश्वासहरू बलिया हुँदै जाँदा त्यसले विचारको रूप ग्रहण गर्छ र त्यो संस्कृतिमा रूपान्तरण हुन्छ । कम्युनिष्ट आन्दोलन भनेको विचारधाराको आन्दोलन हो, त्यो वर्गीय पक्षधरतामा आधारित हुन्छ । त्यसैले वर्गीय संस्कृतिप्रति प्रतिबद्ध भएर मात्रै सांस्कृतिक रूपान्तरण गर्न र कम्युनिष्ट आन्दोलन सफल पार्न सकिन्छ ।’ अर्का वक्ता डा. अमर गिरीले औपचारिक शिक्षाको डिग्रीले पठन र लेखन संस्कृतिको मापन नहुने भन्दै पठन र लेखन संस्कृति भनेको जीवन र जगतलाई बुझ्ने निरन्तरको साधनासहितको अनौपचारिक शिक्षा हो भने । उनले अहिले कम्युनिष्ट आन्दोलनमा पठन संस्कृति स्खलित हुँदै जानु भविश्य निर्माणका निम्ति डरलाग्दो तस्विर हो भने ।

अन्तरक्रियामा धर्म र संस्कृति विषयमा आहुतीले विचार प्रस्तुत गरेका थिए । संस्कृतिका निम्ति धर्म नभएर विचारधारा चाहिने उनको तर्क थियो । उनले अहिलेका सत्तासिन कम्युनिष्टहरू धर्म प्रचारका प्रवक्ता भएको औँल्याउँदै जनयुद्ध गरेर आएका प्रचण्ड सुत्नेबेला आध्यात्मिक गुरुका प्रवचन सनेर निदाउने गरेको बताए । यसो हुनुमा उनमा आएको भौतिकवादी दर्शनप्रतिको विचलन भएको बताए । सो अवसरमा बोल्दै रोशन जनकपुरीले शब्दहरू व्यवहारबाट टाढिँदै गएको र कम्युनिष्ट आन्दोलनका अगुवा नेतृत्वहरूले आपूmलाई विशिष्टिकरण गर्दै जाँदा उनीहरू निर्जिव बस्तुमा रूपान्तरण भएको तर्क प्रस्तुत गरे । ‘शब्द र कर्मका बिचमा तादात्म्यता नहुनु नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य समस्या हो’ जनकपुरीले भने ।

नेपालमा चलनचल्तीमा आएका हिन्दू धार्मिक चाडपर्वहरू समाज रूपान्तरणका निम्ति वाधक भएकाले त्यस्ता रुढीवादी परम्परा हटाउँदै जानुपर्नेमा डा.कृष्णराज अधिकारीले जोड दिए । यसैगरी लैङ्गिक विभेदको पर्खाल कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरूमै रहेको प्रमुख समस्या हो भन्दै बन्दना ढकालले यदी नेपाली समाजको रूपान्तरण गर्ने हो भने पहिला नेताहरूले नै आआफ्ना घरबाट महिलाप्रतिको विभेद हटाउनुपर्ने औँल्याइन् ।

उक्त विचार गाृष्ठीको अध्यक्षताको आसनबाट बेल्दै इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले सांस्कृतिक रूपान्तरणको मुख्य समस्या विचारधाराको समस्या हो भने । उनले ‘नेपालका कम्युनिष्ट आन्दोलन वर्गीय विचारधाराबाट दीक्षित भएर हुनुपर्नेमा तात्कालिक सत्ताराजनीतिको फेरोमा केन्द्रीत भएर भएको हुनाले कम्युनिष्ट नेताहरूले सरकारमा पुग्नु नै अन्तिम लक्ष्य बनाएकोले सांस्कृतिक रूपान्तरण हुन नसकेको’ बताए । महान् जनयुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै सर्वहार वर्गीय सत्ता निर्माणको पवित्र लक्ष्य र उद्देश्यमा आधारित भएर गरिएको बताउँदै अध्यक्ष दुःखीले ‘जनयुद्धलाई मुख्य नेतृत्वले आफ्नो सत्तास्वार्थमा शक्ति आर्जनको माध्यम बनाएर संसदीय व्यवस्थामै लगेर डुबाएको हुनाले जनयुद्धलाई नियोजित रूपमा विसर्जन गरेको’ भने । जनयुद्धमा निर्माण गरिएका संस्कृतिहरू अहिले क्रमशः ढलेको उनको भनाई थियो । नेपाली समाजको मुल चरित्र करिष्मामय नेता खोज्ने र तिनलाई अवतारका रूपमा बुभ्mने हुनाले पनि नेताहरू विग्रँदै जाँदा पनि कार्यकर्ताहरू तिनकै सती जाने समस्याले सांस्कृतिक रूपान्तरणको बाधक बनेको दुखीको कथन थियो ।

कार्यक्रमलाई गण्डकी साहित्य सङ्गमका सदस्य भीम रानाभाटले सञ्चालन गरेका थिए भने इच्छुक सांस्कृतिक प्रतिष्ठनका सदस्यसचिव मित्रलाल पंज्ञानीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरूका तर्फबाट गेहेन्द्रभुषण पोखरेल, छायादत्त न्यौपाने, छवि सुवेदी, अर्जुन शर्मा, विजया सवेदी, विद्यापवमल बराल, देवेन्द्र लम्साल, बलराम पोखरेल, ओम स्रिपाइली, सीता शर्मा, शिबबहादुर बराल, जगदीशचन्द्र भण्डारी, इस्माली, शेषमणि आचार्य, विष्णुमायाँ न्यौपाने, लोकबहादुर थापा, रामराज रेग्मी, त्रिलोचन ढकाल, केशबहादुर परियार, लोकनाथ बराल र नारायण मरासिनीले बहसमा भाग लिएका थिए ।