अमेरिका भारतको वफादार मित्र–ट्रम्प

1651
views

नयाँदिल्ली । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको निकै प्रशंसा गरे । ट्रम्पले अमेरिका सधैँ भारतको ‘वफादार मित्र’ रहेको बताएका छन् । सोमबार उनले अहमदाबादस्थित नवनिर्मित क्रिकेट स्टेडियमबाट सम्बोधन गरेका हुन् ।

‘नमस्ते, अमेरिका भारतलाई माया गर्छ,’ ट्रम्पले झण्डै एक लाख सहभागीलाई सम्बोधन गर्दै भनेका थिए । ‘म मेरा विशेष साथी प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै सुरु गर्न चाहन्छु । प्रधानमन्त्री, यही सहरको एक चिया पसलेको छोरो, जसको उल्लेखनीय प्रगति भएको छ । उनी महान व्यक्ति हुन् । हरेक मानिसले उनलाई माया गर्छन् । तर उनी कडा मध्यस्तकर्ता हुन्,’ ट्रम्पले भने ।

भारत सरकारले ट्रम्पको स्वागतका लागि अहमदाबादमा ‘नमस्ते, ट्रम्प,’ कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ट्रम्पले भारत र भारतीय जनताको खुलेर प्रशंसा गरेका थिए ।

ट्रम्प दुई दिने भ्रमणका लागि भारत आएका हुन् । मंगलबार उनी दिल्ली भ्रमण गरी अमेरिका फर्कने छन् ।