सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको निवेदन खारेज

612
views

काठमाण्डौ, २५, जेठ । सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन आज खारेज गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनैपनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो । बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।
राष्ट्रपतिको कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्यायपरिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले यही जेठ १७ गते रिट निवेदन दायर गर्नुभएको थियो । नागरिकता र शैक्षिक योग्यतामा विवादित न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न आदेशको मागसहित रिट निवेदन दायर गरिएको थियो ।