गजुरेल सहित पक्राउ परेका विद्यार्थी रिहाईको माग

1047
views

काठमाडौं, १३, फाल्गुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले एमसीसी जलाउने क्रममा पक्राउ परेका नेता/ कार्यकर्ता रिहाईको माग गरेको छ । मंगलवार काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी सम्झौता जलाउने क्रममा पक्राउ परेका केन्द्रिय अध्यक्ष गजुरेल, केन्द्रिय सदस्य सुलब वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जगत शाहीलाई रिहाईको माग गर्दै सो संगठनले रिहाईको माग गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का उपाध्यक्ष शिलु न्यौपानेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘हाम्रो संगठन जनयुद्व, जनआन्दोलन लगायतका संघर्षहरुमा सहभागी हुँदै त्याग र वलिदानी र समर्पण सहित शिक्षामा भईरहेको दलालीकरण, माफियाकरण र व्यापारिकरणका विरुद्ध वैज्ञानिक र जनवादी शिक्षा प्राप्तीका लागि संघर्ष गर्दै आएको छ ।’

यसै सन्र्दभमा आरआर क्याम्पस अगाडि आज भएको एमसीसीको खारेजी तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भारतीय हस्तक्षेप विरुद्ध विरोध कार्यक्रम भईरहेका बेला एमसीसी जलाउने क्रममा अध्यक्ष सहित केन्द्रिय सहस्यहरुलाई अन्धाधुन्ध लाठी चार्ज गरी गम्भिर घाईते बनाउँदै नियन्त्रणमा लिइएको प्रति हाम्रो संगठन घोर निन्दा एवं भत्र्सना गर्दछ । साथै घाईते विद्यार्थी नेताहरुको उपचार र नियन्त्रणमा लिएका नेताहरुको रिहाइको लागि जोडदार माग गर्दछौं ।