नेकपाभित्र संविधान संशोधनको प्रस्तावले नयाँ विवाद

563
views

काठमाडौँ, १४,  फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र संविधान संशोधनको प्रस्तावले नयाँ विवाद जन्माएको छ । शनिबार बसेको सचिवालय बैठकले संविधान संशोधन गरेर उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्‍ने बाटो खोल्न लागेको आशंकामा नेकपामा माथिदेखि तलसम्मै विवाद सुरु भएको हो ।

मधेसकेन्द्रित दलले अगाडि सार्दै आएका बिषयहरु, प्रदेश तथा स्थानीय सरकार संचालनमा देखिएका समस्याका साथै राजनीतिक वृत्तमा उठिरहने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रावधानबारे गहिरो बहस हुन सकेकै छैन ।

यता राष्ट्रियसभामा जानेलाई पनि प्रधानमन्त्री बनाउन सकिने कुरालाई संविधान संसोधनमार्फत सम्बोधन गर्न खोजिएपछि चर्को आलोचना भइरहेको छ । अरु बिषयलाई ओझेलमा राखेर संविधान संशोधनमार्फत राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन समिति गठन गरिएको हल्लाले नेकपाभित्र तरंग छाएको छ ।

गौतमलाई राष्ट्रियसभाबाट प्रधानमन्त्री बनाउने रणनीतिका साथ सचिवालय बैठकले संविधान संशोधन कार्यदल गठन गरेको हल्ला चलाइएको छ । वामदेवलाई अगाडि देखाएर दुवै अध्यक्ष अझै शक्तिशाली हुने दाउमा देखिएका छन् ।

पार्टी भित्र वामदेव शक्तिशाली हुने चिन्ताले इश्‍वर पोखरेल र सुवास नेम्वाङसम्मलाई पिरोलेको छ । गौतमलाई मात्रै जोडेर प्रचार गरिँदा उनलाई अहिले नै रोक्ने प्रयासमा नेकपाका केही नेताहरु लागेका छन् । यसो भए उनका प्रतिस्पर्धी पोखरेल र नेम्वाङ मात्रै होइन ओली, दाहाल र नेपाललाई पनि वातावरण सहज बन्‍नेछ ।

ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्‍न नमिल्ने परिस्थिति आएमा पूर्व एमालेबाट माधवकुमार नेपाललाई पनि पहिले प्रधानमन्त्री भइसकेको भन्दै विकल्पमा जानु पर्नेछ । यसका लागि सभामुख भइसकेका नेम्वाङ वा हालका उपप्रधानमन्त्री पोखरेल भन्दा वामदेव सबैका लागि स्वीकार्य हुन सक्ने भएकोले त्रास बढेको देखिन्छ ।

त्यसमा पनि इश्र्वर पोखरेलले मध्यरातमा ट्विट गरेरै संविधान संशोधनको प्रसंगमा विरोध जनाइसकेका छन् । संविधान संशोधनका लागि पूर्वप्रधानमन्त्री तथा नेता माधव नेपालको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको बताइएको थियो ।

नेता नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनेको समाचार बाहिरिएपछि तीनै नेता सोमबार कोटेश्‍वरमा जम्मा भएका थिए । संविधान संशोधन कार्यदलका सदस्य भनिएका नेम्वाङले कार्यदल गठनबारे आफूलाई जानकारी नभएको जिकिर गरेका । ‘सचिवालयले निर्णय गरेको होला । मैले मेरो नाम पनि जोडिएर मिडियामा समाचार आएपछि थाहा पाएँ।  तर, मलाई त्यस बिषयमा जानकारी छैन’, उनले भने। व्यक्तिलाई लिइएर संविधान संशोधन गर्ने प्रस्ताव ल्याएको प्रचार गरिएपछि नेकपाभित्र विवाद सिर्जना भएको हो ।

गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले यसअघि पार्टी विधानसमेत परिमार्जन गरेको थियो । सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव गरेका थिए । गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने बिषय चुहिएपछि नेकपाकै कार्यकर्ता नेतृत्वमाथि जाइलागेका छन् ।

गौतम संविधान संशोधन गरेर राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्‍ने बाटो खोल्ने शर्त राख्दै माघ ९ को निर्वाचनमा जान मानेका थिएनन्।राष्ट्रपतिबाट मनोनित भएका अर्थमन्त्री डा. युवराज खतिवडाको समय सकिएपछि बर्दियामा पराजित गौतमलाई लाने तयारी थियो।

प्रधानमन्त्री केपी ओली विश्वास पात्रका रुपमा चिनिएका अर्थमन्त्री खतिवडाको कार्यअवधि सकिएको अवस्थामा पुनः मौका दिने पक्षमा थिए । अध्यक्ष दाहालकै प्रस्तावमा गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बन्‍ने बाटो खुला गर्ने प्रस्ताव अघि बढाइएपछि नेताहरु आलोचनाका सिकार भएका छन् ।

सचिवालय स्रोतका अनुसार अध्यक्ष दाहालले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने प्रस्तावमा नेता नेपालले पनि समर्थन जनाएका थिए । प्रचण्डको प्रस्तावमा नेता नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, रामबहादुर थापा ‘बादल’ पनि समर्थन गरेका थिए ।

ओलीले तत्कालीन एमालेको अध्यक्ष हुने बेलामा र माओवादीसँग एकता गर्ने बेलामा वामदेवलाई आफूपछि प्रधानमन्त्री बन्‍न सहयोग गर्ने बचान दिइसकेका छन् । तर अहिले उनले प्रचण्ड ईश्‍वर र सुवास नेम्वाङलाईसमेत उनले उही कुराको आश्‍वासन दिएर फकाइरहेका छन् ।

दाहालले प्रस्ताव ल्याएर सचिवालयमै अल्पमतमा पर्ने देखिएपछि ओली मौन थिए। अरु सदस्यले खुलेरै दाहालको प्रस्तावमा समर्थन गरे । तर ओलीनिकट मानिएका विष्णु पौडेल मौन थिए । संविधान संशोधनका लागि कार्यदल बनाएको बताइरहँदा पार्टीमा जानकारी नभएको स्थायी कमिटी सदस्य पम्फा भूसाल बताउँछिन् । ‘पार्टी सचिवालयको निर्णय होला । तर, मलाई त्यसबारे आधिकारीक जानकारी छैन । बाहिर हल्ला सुनेको चाहिँ हो,’ उनले भनिन्।

यस्तै, नेकपाका प्रमुख सचेतक देव गुरुङले पनि संविधान संशोधनबारे आफुलाई पार्टीले जानकारी नगराएको बताए । ‘संविधान संशोधनका लागि कार्यदलले निर्णय गरेको भन्‍ने बाहिर चर्चा आएको छ । त्यस बिषयमा मलाई पनि जानकारी छैन,’ उनले भने । नेकपाले संविधान संशोधन गरेर गौतमलाई राष्ट्रियसभाबाट प्रधानमन्त्री बनाउने रणनीतिसहित लिए पनि पार्टीका नेताहरुले जानकारी नभएको तर्क गरिरहेको छ ।