स्थानीयले चाहे मादी हाइड्रोले सेयर दिने

596
views

पोखरा, २५, जेठ । कास्कीको सिल्दजुरेमा निर्मित माथिल्लो मादी हाइड्रो पावरका सञ्चालकले स्थानीयलाई सेयर दिन तयार रहेको बताएका छन् । स्थानीयको माग भए संस्थापक र साधारण सेयरबाट निश्चित प्रतिशत छुट्याउन तयार रहेको हाइड्रोका अध्यक्ष विजय मल्लले बताए । उक्त हाइड्रोको मुख्य लगानीकर्ता चिनियाँ कम्पनी थ्री गर्जेज अन्तर्गतको सिडब्लु हो । नेपाल र चिनियाँ दुवै सरकारहरुसँग अनुमति लिएर स्थानीयलाई सेयर दिन आफूहरुले चाहेको मल्लको भनाई छ । मादी हाईड्रोको क्षमता २५ मेगावाटको रहेको छ ।
सामान्यता प्रतिमेगावाट लगानी १५—२० करोड हुने भएपनि मादीमा २८ करोड खर्च भएको उनले बताए । उनकै भनाइ अनुसार ७ अर्ब रुपैयाँमा आयोजनाको अहिलेसम्मका काम सकिएका छन् । उनका अनुसार आयोजना ५ अर्ब ५८ करोड रुपैयाँमा सक्ने लक्ष्य थियो । अमेरिकी डलरको मूल्यवृद्धि हुने, नेपालमा भूकम्प जानु र भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुनु लगायत कारण आयोजनाको लागत वृद्धि हुन पुगेको बताईएको छ । २५ मेगावाट क्षमता भए पनि अहिले १६ देखि १८ मेगावाट उत्पादन भइरहेको जानकारी उनले दिए ।
२०६९ पुस १३ गते निर्माण सुरु आयोजनाले निर्धा्रित समयभन्दा ८ महिना ढिला अर्थात २०७३ पुस १५ गतेबाट उत्पादन थालेको थियो । आयोजनाको सुरुङ खन्दा नजिकै पटक—पटक पहिरो गएको थियो । त्यो र भूकम्प तथा नाकाबन्दी लगायत कारण निर्धारीत समयमा आयोजना पूरा हुन नसकेको हो ।
विदेशीको लगानी भए पनि यो हाइड्रो पावरसँग विद्युत प्राधिकरणमा नेपाली रुपैयाँमै विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । विदेशी लगानीका अरु आयोजनाले भने अमेरिकी डलरमा पीपीए गरेका छन् । पहिला २० मेगावाटको सम्भावना देखेर त्यतिको पीपीए गरेको आयोजनाले पछि फेरि ५ मेगावाटको सम्झौता थपेको थियो । ती दुवैमा पीपीए दर पनि फरक फरक छ । ५ मेगावाटको वर्खामा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसाका दरले पीपीए भएको छ । चीनको थ्रीगर्जेज जलविद्युत कम्पनी अन्तर्गतको सिडब्लु हाइड्रोले मादीमा लगानी गरेको हो । हाईड्रोको काम थालेपछि विद्यालय, स्वास्थ्यचौकी, सडक, नाली लगायत क्षेत्रमा लगानी गरेको मल्ले जनाए ।