पर्वत पाङका रुपेशले बनाए विद्यार्थी जीवनमै विद्युतीय गाडी

2057
views

पर्वत, १५, पाङ । । कुश्मा नगरपालिका–१ पाङ स्थायी घर भई पोखरा महानगरपालिका–२७ स्थित रिठेपानी बस्ने १६ बर्षिय विद्यार्थी रुपेश चँदरा खड्काले आफैले बनाएको गाडी चलाएर देखाएका छन् । पोखराको लिटलफ्लावर एजुकेशनल एकेडेमीको कक्षा १० मा अध्ययन गर्ने रुपेशले विद्यालयको २७ औं बार्षिक उत्सवमा आफैले बनाएको विद्युतबाट चल्ने गाडी (गो कार्ट) चलाएर देखाएका हुन् ।

उनले बनाएको गाडी अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाएका थिए ।

चँदराको परिवार पेशा एवं व्यवसायका क्रममा अहिले पोखरा–२७ रिठेपानीमा बस्दै आएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारेका थिए ।

विद्यालयले उनको सीप र सिर्जनामा थप हौसला बढाउन सम्मान समेत गरेको छ । सो अवसरमा विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् ।

विद्यालयका प्रिन्सिपल विष्णुहरी पौडेलले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी जस्ता सवारी साधनहरु बनाइसकेको जानकारी दिए ।

उनका बुबा सोमबहादुर चँदराले रिठेपानीमा ग्रिल उद्योग सञ्चालन गर्दै आएको र सोही ग्रिल उद्योगबाट गाडी बनाउन चाहिने सामाग्री सामग्री जुटाउन रुपेशलाई सजिलो भएको बताए ।