वास्तविक कथामा आधारित चलचित्र ‘धुलो’आजबाट प्रदर्शनमा

785
views

काठमाडौँ १६,फागुन । राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण भएको फिल्म शुक्रबार अर्थात् १६ गतेबाट प्रदर्शनमा आएको छ।

प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म युनिटले लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ। सम्मानित हुनेमा विगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी क्षेत्रमा रिक्सा चलाउँदै आएका हीरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउँदै आएका बलबहादुर श्रेष्ठ छन्।उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि चलचित्रकर्मी नीर शाह, नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए।

करिब एक सयजना रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मजदुरका दुईजना छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको घोषणा गरियो।

कार्यक्रममा ‘धुलो’ले गरेको सामाजिक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रशंसा गरे।

कार्यक्रमपछि ‘धुलो’मा विशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ, निर्देशक मिश्र, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष रक्षा राणालगायत फिल्मको युनिटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो। कार्यक्रममा अभिनेता शाहले ‘धुलो’ले मजदुर र मजदुरीको सम्मान गरेकोमा खुसी व्यक्त गरे।

त्यसैगरी चलचित्र निर्माता संघका अध्यक्ष अधिकारीले ‘धुलो’ यथार्थपरक कथामा निर्माण गरिएकाले हरेक मान्छेको मन छुने विश्वास व्यक्त गरे। अभिनेता तामाङले आफू ‘धुलो’मा वास्तविक जीवनहरूसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताउँदै दर्शकको प्रिय बन्ने आशा व्यक्त गरे।

दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मि श्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतको अभिनय छ।

फिल्ममा केशव मि श्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत तथा रविन आचार्यको छायांकन छ।