धनुषामा झगडा छुटाउन गएका सोनेलाल पुलामीको कुटपिट गरि हत्या

562
views

जनकपुरधाम १७,फागुन । धनुषा जिल्लाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा नहर चोक स्थित घर भएका एक पुरुषको हत्या भएको छ।

स्थानीय ५५ वर्षीय सोनेलाल पुलामीलाई सोही ठाउँका युवाहरुले शुक्रबार राति ८ बजेको समयमा हत्या गरेको परिवारले दाबी गरेको छ।

बाँसको भाटाले टाउकोमा हानेर गम्भीर घाइते भएका सोनेलालको उपचारका लागि जनकपुर ल्याउँदै गर्दा मृत्यु भएको पुलामीको छोरा सूर्यनारायणले बताए।

राँगाले गहुँ खाएको हेर्न खेतमा पुगेका फर्किने क्रममा नशाले मातेका युवकहरुले बुवाको हत्या गरेको सूर्यनारायण बताएको छ।

मदिरा र गाँजा खाएका युवाहरुको दुई समूह झगडा गरिरहेका बेला सोनेलालले सम्झाउने प्रयास गरेका थिए। यही क्रममा युवाहरु उनीमाथि नै जाइलागेर कुटपिट गरेर हत्या गरेको गरिएको हो।

अहिले उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। पीडित परिवारले हत्या गरेको आरोपमा स्थानीय सात युवामाथि प्रहरीमा किटानी जाहेरी दिने तयारी गरेका छन्।

जोहरी दिए लगतै जिल्ला प्रहरी धनुषाले ६ जनालाइ पक्राउ गरेको छ भने एक जना फरार रहेको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका १ का १९ वर्षीय कपिल सदा , १९ वर्षीय आशेस यादव, २३ वर्षीय धम्देव राउत, २४ वर्षीय जितेन्द्र राउत, र १९ वर्षीय मोनु यादव रहेको छ भने २० वर्षीय अमरजित राउत फरार रहेको जिल्ला प्रहरी धनुषाले जनाएको छ।