कोरोना भाइरसबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या २१० पुग्यो

471
views

एजेन्सी । स्कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ । शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए । इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताएका थिए ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड १९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् ।

इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।

शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ । तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।