सुस्तामा गर्जियो बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी

प्रधानमन्त्रीको राष्ट्रवादप्रति सुस्ता बचाउ अभियान्ताको आक्रोष

657
views

सुस्ता, १८ फागुन । राष्ट्रको स्वाधीनता बचाउन र भारतले मिचेको जग्गा फिर्ताका लागि वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सुस्तामा गरेको राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै अभियानका उपाध्यक्ष आदम खानले ज्यानको वाजी लगाई सुस्ता वचाउँदा पनि सरकारले वास्ता नगरेको आरोप लगाए ।

आदमले सिमावर्ति क्षेत्रमा अझैपनि हजारौँ स्थानीय नागरिकता र लालपुर्जा विहीन छन् भने राज्यले उपलब्ध गराउने वृद्ध भत्ता, एकल महिला भत्ता, घरवास कार्यक्रम आदिको सुविधाबाट वञ्चित गराइएको आरोप लगाए ।

कार्यक्रममा सुस्ता बचाउ अभियानका अभियानकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादप्रति प्रश्न गर्दै नाकावन्दीको समय राष्ट्रवादी नेताको पहिचान बनाएका केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुस्ता लगायतका सीमा संरक्षणसँगै जनतालाई सुविधा प्रदान गर्नेमा त्रसिएको बताए ।

उनीहरुले भने ‘प्रधानमन्त्री भेट्न काठमाण्डौँ गयौँ, ३ महिना १३ दिन वस्दा समेत भेट्न नपाएपछि हामीले ओलीको राष्ट्रवादलाई राम्रोसँग बुझ्यौं, प्रधानमन्त्रीले ज्यान दिएर सीमा रक्षा गरेकालाई भेटन् दिईएन ।’

अभियानका प्रवक्ता रविन्द्र जैसवालले ‘सरकारले नागरिकता हुनेलाई घरवास कार्यक्रम अनुसार घर बनाइदियो । नागरिकता नहुने तर सीमा संरक्षण गर्दा गर्दै मृत्युवरण गरेका परिवारलाई नागरिकतासम्म नदिएको भन्दै आक्रोष व्यक्त गरे ।

कार्यक्रममा सुस्तावासीको मागलाई वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ऐक्यवद्धता जनाउँदै त्यसलाई पूर्णता दिन पार्टीको तर्फबाट प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य एवम् प्रदेश ईन्चार्ज चन्द्रहरी सुवेदीले लिम्पियाधुरा र लिपुलेक सहित अतिक्रमणमा परेका नेपाली भूमिको तत्काल फिर्ता सहित संरक्षण गर्न माग गर्दै राष्ट्रहितमा रहेको एमसीसी खारेज गर्न माग गरे ।

नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ सेक्रेटरी केशबहादुर परियारले आफू १० वर्षअघि सुस्ता जाँदा अवस्था र जनताको आवश्यकता जे थियो अझै पनि त्यही अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश–४ का अध्यक्ष नेत्र रानाभाटले सुस्ता वचाउ अभियानका उपाध्यक्ष आदम खान, प्रवक्ता रविन्द्र जैसवाल र महिला नेतृ नैला वेगमले राखेको मागहरुलाई समाधान गर्न पार्टीले वलिदान दिन समेत तयार रहेको बताए ।

उनले सुस्तामा भारतले मिचेको जग्गा फिर्ताका लागि ३ करोड नेपाली जनताको साथ र समर्थन जुटाउन आफुहरु लागिपर्ने बताए ।