थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुईदिने बन्द

बन्दका कारण दाङको जनजीवन प्रभावित

489
views

दाङ,  २०, फागुन ।  थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएकाले मोर्चाले फागुन २० र २१ मा नवलपरासीदेखि कञ्चनपुरसम्म आम हडताल गरेको हो ।

संघर्षका विभिन्न कार्यक्रम गर्दै आए पनि सरकारले माग पूरा नगरेपछि दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको मोर्चाले जनाएको छ । पुस २२ गते नेपाल सरकारसँग १४ बुँदे माग राखी पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि मागप्रति सरकार संवेदनशील र सकारात्मक हुन नसकेकाले आमहडतालको घोषणा गर्नु परेको मोर्चाका जिल्ला संयोजक जनकुलाल चौधरीले बताए ।

आमहडतालका क्रममा कलकारखाना,उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारीसाधान, ढुवानीका साधन पूर्णरुपमा बन्द रहने जनाइएको छ । तर, अत्यावश्यक सवारीसाधनहरु दमकल, एम्बुलेन्स, शववहान, सुरक्षा निकायका सवारी साधन, दुध बोक्ने वहान, औषधि बोक्ने वहान, रेडक्रस, मानवअधिकारकर्मी, पत्रकार, पर्यटक र कूटनीतिक नियोगका सावारी साधान निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ ।

मोर्चाले टिकापुर घटनाको योजनाकारका रुपमा थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीलगायतका ११ जना बन्दीहरुलाई विनाशर्त रिहा गर्नु पर्ने माग प्रमुख रुपमा अगाडि सारेको छ ।