२ नं प्रदेशमा नशा च्यापिएको मेरुदण्डको पहिलोपटक सफल शल्यक्रिया

680
views

धनुषा २२,  फागुन ।   प्रदेश दुईमा पहिलोपटक नशा च्यापिएको मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ।

जनकपुरस्थित जानकी हेल्थकेयर अस्पतालमा कार्यरत अर्थोपेडिक एण्ड स्पाइन सर्जन डा. राकेश मण्डलले एक बृद्धको हड्डी खिएर नशा च्यापिएको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन्।

यसअघि प्रदेश २ का आठै जिल्लाका कुनै अस्पतालमा पनि नशा च्यापिएको मेरुदण्डको शल्यक्रिया हुन सकेका थिएन। ‘ब्याकअप’मा केहि बिरामीको नशा च्यापिएकै मेरुदण्डको शल्यक्रिया गरेपनि डा. मण्डल स्वयं यस्तो शल्यक्रिया गर्न हिच्किचाउँथे । डा. मण्डलले आफ्नै हजुरबुबा ७६ बर्षीय राजकिशोर मण्डल यस्तो समस्याबाट ग्रसित भएपछि डा. मण्डलले सफल शल्यक्रिया गरेका हुन्।

डाक्टरले हड्डी खिएर नशा च्यापिएको मेरुदण्डको अप्रेशन गर्नुपर्ने सुझाएपछि डा। मण्डलले आफ्ना हजुरबुबाको आफैंले शल्यक्रिया गरेका हुन्। डा. मण्डल भन्छन्, ‘एक्लै यस्तो शल्यक्रिया कहिल्यै नगरेका कारण हिचकिचाहट मनमा त थियो, डर पनि लाग्थ्यो, तर आँट गरेँ, गत शनिवार ९ घण्टा लगाएर गरिएको शल्यक्रियामा सफल पनि भयौं।’ शल्यक्रिया पश्चात राजकिशोर सहज रुपमा हिँडडुल गर्न थालेका छन्। ‘पहिले हिँड्दा निहुरिनु पर्‍यो,’, उनले भने, ‘५ मिनेट हिँड्दा पनि ढाड दुख्न सुरु हुन्थ्यो, खुट्टाका भरमा उभिन पनि अप्ठ्यारो हुन्थ्यो, शल्यक्रियापछि अहिले सबै समस्याबाट मुक्त भएको छु।’ उनले सफल शल्यक्रिया गरेकोमा डा। मण्डल र अस्पताललाई धन्यवाद समेत दिए।

हड्डी खिएर नशा च्यापिएको मेरुदण्डको अप्रेशनमा विराटनगर र काठमाडौंजस्ता शहरमा लाखौं रुपैयाँ खर्च लाग्ने गर्छ। डा. मण्डल भन्छन्, ‘यस्तो खालको शल्यक्रिया बाहिर लाग्ने खर्च भन्दा आधामै गर्छौं, शल्यक्रियाका क्रममा विभिन्न उपकरण र औषधीमै करिब १ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ। प्रदेश २ का विरामीले बाहिर गएर अप्रेशन गराउँदा बस्ने र खानेदेखि उपचारमा समेत ठूलो रकम खर्चिनुपर्ने बाध्यता थियो। तर अब जनकपुरमै बिरामीले यो सेवा प्राप्त भएपछि प्रदेश २ का नागरिकका लागि ठूलो राहत मिल्ने देखिन्छ।