मकवानपुरमा भएको जन्ती सवार बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

640
views

 मकवानपुर २२,फागुन ।  मकवानपुरमा हिजो बेलुकी जन्ती चढेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।

गढी गाउँपालिका–२ जितपुरभञ्याङमा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो।

गढीबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए। घाइते भएका सुकौराका २४ वर्षीय सुरज लो को उपचारका लागि भरतपुर लैजाने क्रममा मृत्यु भएको हो।

घटनास्थलमै मृत्यु हुनेमा गढी ७ का सोमबहादुर रुम्बा र सोमबहादुर मोक्तान रहेका छन् भने एकजनाको अझै पहिचान खुल्न बाँकी रहेको डिएसपी कार्कीले बताए।

दुर्घटनामा ५२ जना घाइते भएका छन्। घाइतेमध्ये २६ जनाको हेटौंडा र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अरु भने उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।