माई भ्याली गोल्डकप प्रतियोगिताको फाइनलमा मच्छिन्द्र

468
views

इलाम । लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी छैटौं माई भ्याली गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

ठूलो टुँडिखेलमा बुधबार भएको खेलमा मच्छिन्द्रले भारतको मानेभन्ज्जाङ फुटबल क्लब दार्जिलिङलाई ३(० गोलले हरायो। उपाधिका लागि मच्छिन्द्रले त्रिभुवन आर्मी र आयोजकबीचको विजेतासँग खेल्नेछ।

मच्छिन्द्रको जितमा १९औं मिनेटमा रेजिन सुब्बाले गोल गरे। रेजिनले डीबक्स भित्रबाट गोल गरेका थिए। २१औं मिनेटमा एडेलाजा सोमिडेले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए।

उनले रजिन धिमालको कर्नरमा गोल गरेका थिए। ८७औं मिनेटमा रेनिज सुब्बाले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको जित थप सहज बनाए।

दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको पाहुना टोलीले गोल फर्काउन सकेन। मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

खेलपछि मच्छिन्द्रका प्रशिक्षण प्रवेश कटुवालले लक्ष्यअनुसार टोलीको तालमेल मिल्दा जित सम्भव भएको बताए।

दार्जिलिङका प्रशिक्षक रेवजी भुटियाले सोचेअनुसारको प्रदर्शन गर्न नसक्दा हार खेप्नु परेको बताए। प्रतियोगितामा १० टोलीले भाग लिएका थिए।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। बिहीबार आर्मी र माई भ्याली क्लबबीच प्रतिस्पर्धा हुनेछ।