संस्कृति

165
views

–परशुराम कोइराला
कम्युनिस्टहरूलाई जगत फेर्ने बदल्ने र विज्ञानमा विश्वस्त अग्रगामी शक्ति मानिन्छ र मानिंदै आयो । नयाँ संस्कृति कै कारक बन्नुपर्छ ती । साढे सात अरब वर्ष पहिले पृथ्वीमा एउटा पनि जीव थिएन । मानव अस्तित्व शुरू भएको चालीसलाख वर्ष भयो भनिन्छ । मानव अस्तित्व शुरू भएको हजारौं वर्षपछि मात्र सामुहिक हित र समाजनिम्ति निर्मित आचारसंहिता निर्माण हुन पुग्यो । कालान्तरमा हजारौं वर्षपछि त्यही आचार संहिताले धर्मका रुप लिन पुग्यो ।

समयक्रमका परिवर्तनहरुलाई आत्मसात गर्दै नयाँ नयाँ जीवनपद्धतिहरु देखा पर्दै गए । जीवनपद्धतिले पनि संस्कृतिका रूप ग्रहण गर्दै गए । ज्ञानबिज्ञान र विचारजगतका असिमीत र व्यापक सीमासम्म विज्ञानका नवीन आविष्कारहरुका प्रभाव पनि संस्कृतिमा पर्दै गए । बृहत् र व्यापकताउन्मुख परिवर्तनशील अस्तित्वसहित मूल्यवोध हुनु संस्कृति र धर्मको विशेषता नै भयो ।

आजको मानिस इतिहासले परिभाषित गरेका मानिसभन्दा चेतनाका दृष्टिकोणले धेरै फरक छ र हुनुपर्छ । चलन संस्कृति पनि धेरै फरक छन् । सांस्कृतिक आदर्श नैतिक, सामाजिक आदर्शसंग जोडिने विषय पनि हो । क्षमता विकास, मुक्ति, प्रगति, स्वतन्त्रता, सङ्गति, उच्चतम परिष्कार आदिका लागि पनि संस्कारले भूमिका खेल्न सक्छ । विज्ञानका सहारा लिनेहरुले यही धर्तीमै रहेर उथलपुथल गरे । भाग्य, ईश्वर र धर्मका विश्वास गर्नेहरु जहाँको तहीं छौंं । सायद सियो बनाउन नसक्नेमा पर्छौं नेपाली । कर्मकाण्डीय पुरेतबिधिले मरेपछिका स्वर्गगमनका आशामा झुण्ड्याइदिएको छ । झुन्डिएका हुन्छन् नेपाली ।

सम्प्रदायगत धर्म प्रवृत्तिहरुका बिबिध रुप हुन सक्छन् मानौंला । कतै शासकका हित, अनुकूलतामा त कतै शासितका हित अनुकुलतामा देखापर्दै आयो संस्कार संस्कृति । नेपालमा व्यवस्थाका नाम फेरिएको भनिए पनि शासनसत्ताको शैली पुरानै छ । पाक्ने कुरा एउटै र उहीँ प्रवृत्तिका चीज राखेर भाँडो फेर्दैमा स्वादमा फरक खासै आउदैन । भाँडाका नाम चैं फेरिएको मात्रै हो । र पनि एकथरि मान्छे हाँडीमा खीर पाक्ने आशामा अझै देखिन्छन् । मुर्तिसामु सुख समृद्धि खोज्ने संस्कृति पनि हामीकहीं छ । अरुका त कुरै छोडौं, क्रान्तिकारी भन्न रहर गर्नेभित्र पनि छ । तिनका सांस्कृतिक चेतनामा राणाकालकै निरन्तरता छ । एकथरिमा त्यो भन्दा अझै पुरानो छ । पुरातनमोह उस्तै छ ।

विडम्बना, देवता र भाग्यका शरण पर्नेहरु जहाँका त्यहीं छन् र हुन्छन्, हुनेछन् । सुमेरु घुम्नेलाई सुमेरु चढाउने संस्कृति पनि हामीकहाँ छ । भन्दा सर्वहारा क्रान्तिको युग र साम्राज्यवादी बर्तमानका युग भन्छन् मान्छेले । सामन्तवादी र पुँजीवादी युगका सांस्कृतिक विधि आचरण पनि फरक नदेख्ने नेता मानिन्छन् । पुजा संस्कृति डरलाग्दो गरि हुर्केका पनि समाजले देखेको छ । पुजकहरु नै नेता हुने,बनाइने चलन पनि देखेको छ समाजले । हिजोदेखिकै निरन्तरतामा नवीन सोच नभएका नै हुन्छन् ठूला । समाजले त्यस्तैलाई ठूलो देख्ने, लुटेको धन दानगर्न सक्नेलाई दानवीर देख्ने पनि चलन अरु हुर्किएकै छ । गलत संस्कृतिका परिणाम यस्तै भेटिन्छन् । चीनमा माओका सांस्कृतिक क्रान्तिले चीनलाई संसारकै सुन्दर र समृद मुलुक वनायो । माओ नचिन्ने, नबुझेहरु पनि माओवादी हुने रहरमा छन् । नाममात्रका अरुबाट पनि के आशा भयो ? सुनिन्छ । माओका योगदान नबुझ्ने माओवादी छन् । मार्क्स-लेनिन नबुझ्ने पनि रुपान्तरणकारी सङ्ठनमा नेताहुने रहरमा छन् । उत्पीडित संस्कृतिकै मतियार र तिनबाट जनताले सिक्ने के ? यही विडम्बनाले प्रतिगामी र अग्रगामीविच पनि फरक देखिएन ।

पत्नीलाई गोडा ढोगाउने र खुट्टाको जल खुवाउनेलाई धुरीमा पुर्याउनेलाई कसरी ऐतिहासिक भौतिकवादी पात्र मान्नू र पुज्नू समाजले ?

आ-आफ्नै नैतिक धरातल र आदर्शमा बाँधिदै आएका हिन्दू, मुस्लिम, क्रिश्चियन, जैन, बुद्ध आदि सम्प्रदाय विशेषका उदेश्य र सार मानवजातिकै कल्याणसँग जोडिन्छ भन्नेसंग पनि तदनुकूलका व्यवहारहरु आज भेटिदैन । राम्राका अनुशरण हुन्छन् र हुनुपर्छ । गलतकै अनुशरण आफैमा गलत मानिनु पर्छ । मन्दिर, मूर्तिमा तागत देख्ने मानिस कसरी जनसंस्कृतिका वकालत गर्छ ? हामीलाई बुझ्नु छैन । सोध्नु छैन । पत्नीलाई गोडा ढोगाउने र खुट्टाको जल खुवाउनेलाई धुरीमा पुर्याउनेलाई कसरी ऐतिहासिक भौतिकवादी पात्र मान्नू र पुज्नू समाजले ? घरभरि ऐशु टाँस्ने पुज्नेहरूलाई अगुवा पिविएम ,सिसिएम बनाउनेहरुलाई कसरी नेता मान्न्नू ? संस्कृतिका कुरा पनि विचित्रको छ । विचित्रकै भयो । ज्यान गएपनि ढुङ्गा पुजिन्न भन्नेहरुलाई,गलत र उत्पीडनकारी संस्कृति विरुद्ध उभिनु पर्छ भन्नेहरुलाई सङ्कट कहाँ छैन र कहाँ थिएन ? खै अपेक्षाकृत मुक्तिका सोच ? खै मालेमावादी सांस्कृतिक आचारण र व्यवहार ? खै दर्शनका वोध र व्यवहारिकता ?

समृद्धि,शान्ति, परोपकार, मानवतामुखी लोककल्याण, मानवहित, अहिंसा,विभेदमुक्त बन्धुत्वका सांस्कृतिक आदर्श सम्प्रदायगत चलनलाई धर्म बुझ्ने चलन पनि धर्मयुद्धका प्रारम्भ भएयता केही टुटेको छ । सामन्तयुगीन पृष्ठभूमिका संस्कृति विकल्पमा अपेक्षित नवीनता पनि देखिन्न नै ।नाममात्रका कम्युनिस्ट कम्पनीमा अनुभव हुन पनि कतै पाएन । पुरातन हुर्किरहेछ । उत्पीडन,लुट हुर्किइरहेछ । आफूलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विचारका भन्न रुचाउनेहरु पनि धर्मका आहालमा चुर्लुम्बिएकै देखिएका छन् । भोटका चिन्तामा रुपान्तरणकारीहरु तर्सनुपर्ने कारणहरु अभिशप्त बनेर हुर्किरहेछन् ।समाज त्यस्तै भएकाले पनि रुढिविरोधीलाई सङ्कट भएका मानौंला नै । हिजो धर्मका नाममा मानवमानव वीच आजझैं गला पनि रेटिन्नथ्यो देखिन्छ भन्ने पनि छन् ।गलत रुपमै धारण गरिएका देख्ने पनि छन् । कम्युनिस्ट सङ्गठनहरु हेर्दा प्रतिगामी जस्तै नदेखिनु पर्थ्यो ।पुरातनी नहुनुपर्थ्यो । जनअपेक्षाका विषय त वन्छन् सधैं यी । पार्टीहरु हेर्यो प्रतिगामी पुरातनकै दास कारिन्दाहरुका जस्तो नबनुन् का सोच सबैतिर हुर्कन जरुरी छ । आज खिचडी संस्कृति कै बोलवाला हुनु सबैतिर दुखद छ । नयाँ संस्कृति माथि नै उत्पीडन छ । तिरस्कार छ कम्युनिस्ट भोटरहरुबाटै खुराफाती हुनु कस्तो दुखद ?

बरु मन्दिर, पशुपति, गुम्बा, चर्च, मस्जिद ..आदिका नाममा हिजोझै करोडौंको कोष राखेर लाखौं नागरिकहरुलाई भोकैनाङ्गै राख्ने हिजोका निरन्तरता सहरदेखि गाउँगाउँमा यतिबेला अरु हुर्काउन खोजिएको पनि देखिएकै छ । यो केका लागि किन ? प्रश्नहरु अनगिन्ती उठन सक्छन् । पुरातनवादीहरुलाई सच्याउने दायित्व नभएकाहरु नेता हुनुका परिमाण मान्नेबुझ्नेहरुका हुर्मत सबैतिर पनि देखिएकै छ । सुखी हुनुलाई भाग्यखेल देखाउने, तड्पाउने सामन्ती व्यवस्थाका निरन्तरताजस्तो पनि आदिमकालका धर्म थिएनन् देखिएला । आज धर्मसंस्कृतिको विषय अफिमजस्तै भएको छ । यो हुनु राज्यको कमजोरी हो । यी सब गलत संस्कृतिकै परिणाम हुन् । लुट र उत्पीडनका कारण पनि बनेको छ यो परिणाम । संस्कृतिले स्वेच्छिक र लोकतान्त्रिकरण प्रक्रियामा पनि प्रवेश पाएको देखिएन अझै । जन्मदेखि मृत्युसम्मका सबै चलन परम्परामा एउटै परिवारभित्र आज पनि छुत अछुत बनाउने चलन छ । ……सुत्केरी, महिनावारी, पूजा, कर्मकाण्ड, मृत्युु कर्म आदिमा चोखोनिष्टा नाममा परिवार मै एकअर्कालाई अछुत बनाउने, चलन कतिन्जेल व्यवहारिक भैरहने हो अझै ? हिजोका अवैज्ञानिक चलनलाई प्रश्रय दिनेहरुलाई कसरी मान्नू समाजले ठूलो ? अयोग्य संवेदनाहीनहरुलाई धुरीमा चढ्यो भन्दैमा मान्नु पुज्नु कसरी ? संस्कृतिको विषय पनि गम्भीर लागिरहेछ । सांस्कृतिक चेतना शून्यलाई कसरी उठाउनुका सोंच राज्यको हुनुपर्छ । दुईतिहाइ बढी जनमत हो भने सबैखाले गलत संस्कृतिका विरुद्धका अभियानमा किन पछि ? समग्रमा संस्कृति भनेका मानवनिर्मि्ति वाहेक अरु होइनन् । तर पनि समाजले के भन्लाका त्रासमै सांस्कृतिक योद्धाहरु पनि किन फसिरहन्छन् ? पुरातन र रुढिसामु किन तर्सिरहेछन् ? सांस्कृतिक क्रान्तिका महत्त्व कहिले बुझिएला ?